भैरहवाबाट जाउँ है पोखरा अभियान सुरु, आन्तरिक पर्यटकलाई पोखराको निम्तो
2023-12-18 17:04:30cri
Share with:

पश्चिम नेपालका आन्तरिक पर्यटकलाई पर्यटकीय सहर पोखरा एवं गण्डकी प्रदेश भ्रमणका लागि निम्तो दिन पोखरेली होटल व्यवसायीले जाउँ है पोखरा अभियान कार्यक्रम शनिबार भैरहवाबाट सुरु गरेका छन्। होटल संघ पोखरा नेपालले दुई दशक अघिबाट पूर्व मेचीदेखी पश्चिम महाकालीसम्मका आन्तरिक पर्यटकलाई पोखरा एवं वरपरका पर्यटकीय क्षेत्र भ्रमण गर्न जाउँ है पोखरा अभियान सुरु गर्दै आएको छ ।

 

संघ र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा यसपटक पश्चिम नेपाललाई लक्षित गरी शनिबार भैरहवाबाट सुरु भएको अभियान नेपालगन्ज, धनगढी र महेन्द्रनगरसम्म पुगेर त्यहाँ रहेका होटल संघ साथै पर्यटन सम्बद्ध संघसस्थामार्फत आन्तरिक पर्यटकलाई पोखरा एवं गण्डकी प्रदेशको विभिन्न पर्यटकीयस्थल भ्रमण गर्न निमन्त्रणा दिइने होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो।

 

आन्तरिक पर्यटक नै दिगो पर्यटनको माध्यम रहेकाले आन्तरिक पर्यटकलाई निमन्त्रणा अभियान विगतमा सुरु भएको र भैरहवामा यसअघि पनि २०६८, ०७४ र ०७७ र अहिले २०८० मा जाउँ है पोखरा कार्यक्रम लिएर आएको अध्यक्ष सुवेदीले बताउनुभयो। जाउँ है पोखरा अभियान सुरु गर्दै व्यवसायीले आन्तरिक पर्यटकलाई पोखरा भ्रमणको निम्तो दिँदै उनीहरूले पाँचवटा प्याकेजसमेत सार्वजनिक गरेका छन्। प्याकेजअन्तर्गत घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा–मुक्तिनाथ र पदयात्रा प्याकेज रहेका छन् । होटलमा बस्ने, खाने र घुम्नेसम्बन्धी यी प्याकेज दुई रातदेखि चार रातसम्मका र तीन हजारदेखि २६ हजार मूल्यबीचका छन्।

आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप दुई दशकअघि सञ्चालित अभियानले भैरहवाका अतिरिक्त नेपालगन्ज, धनगढी र महेन्द्रनगर पनि समेटेको छ र अभियान ४ पुससम्म चल्ने संघका उपाध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो।

कार्यक्रममा पर्यटनका लागी लुम्बिनी प्रदेश र गण्डकी प्रदेश एकमपसमा सहकार्य गरी अघि बढनुपर्ने यताका पर्यटकलाई उता र उताका पर्यटकलाई यता पठाउने वातावरण बनाउनु पर्ने पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी अधिकृत रामु जोशीले बताउनुभयो। भारतीय पर्यटकका दैनिक पाँच सय गाडी बेलहिया नाकाबाट पार हुँदै लुम्बिनी, पोखरा, चितवन काठमाडौं जाने गरेको तथ्यांक रहेको बताउँदै उहाँले ती भारतीय पर्यटकको बसाइ अवधि लम्ब्याउने कार्यक्रहरू एकीकृत रूपमा बनाउनु पर्नेमा जोड दिनुभयो।

 

सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्घाटनको १८ महिना पुग्दा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उचित रूपमा सञ्चालनमा नआउनु पर्यटन व्यवसायीको ठूलो लगानी डुब्ने खतरा रहेको बताउनुभयो। विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आफूहरूको दबाबमूलक आन्दोलन जारी रहेको उहाँले सुनाउनुभयो। पत्रकार माधव ढुंगानाले पोखरा र गौतम बुद्ध विमानस्थलको यथोचित सञ्चालनका लागि सरकारलाई एकीकृत दबाब दिनुपर्ने सुझाव राख्नुभयो।। पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब दिइएको र आफूहरूको धैर्यताको बाँध टुटे आन्दोलन गर्न बाध्ये हुने चेतावनी दिनुभयो।

अहिले पोखरा पुग्ने पर्यटकमध्ये ३५ प्रतिशत हिस्सा नेपालीको रहने गरेको छ । गएको कात्तिक महिनामा पूर्वी नेपालका विभिन्न सहरमा पनि संघले यो अभियान सञ्चालन गरेको थियो । पश्चिमबाट पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पश्चिम पठाउने उद्देश्य पनि कार्यक्रमले लिएको छ । कोभिड–१९ बाट थला परेको पर्यटनलाई लयमा फर्काउनसमेत यो अभियानले बल दिने आयोजक संघको अपेक्षा छ। कारोबार अनलाइनका अनुसार पोखराका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको र यो क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको संघले जनाएको छ ।