नेपालको प्रमुख निकासीजन्य वस्तु हस्तकलाको आन्तरिक खपत पनि बढ्दो
2023-12-19 16:37:36cri
Share with:

नेपालको प्रमुख निकासीजन्य वस्तु हस्तकलाको आन्तरिक खपत पनि उत्तिकै बढ्न थालेको छ। हस्तकला व्यवसायीहरुका अनुसार सामाजिक संस्कार अनुसार जन्मदेखि मृत्युसम्म हस्तकलाजन्य सामग्रीकै प्रयोग हुने र पछिल्लो समय व्यापार व्यवसायमा पनि नेपाली कला–संस्कृति झल्काउने सजावट गर्ने संस्कृतिको विकास हुँदा यो क्षेत्र फस्टाउने क्रममा छ।

 

नेपाल हस्तकला महासंघको तथ्यांकअनुसार यो क्षेत्रको वार्षिक कारोबार २५ अर्ब रुपैयाँभन्दा बढी पुगिसकेको छ । महासंघका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा झन्डै १२ अर्ब रुपैयाँका हस्तकला निर्यात भएकोमा सोही हाराहारीमा आन्तरिक बजारमा खपत भएको अवस्था छ । आन्तरिक बजारमा खपत तथा विदेशी पर्यटकले नेपाल आउँदा खरिद गर्ने हस्तकलाजन्य सामग्री समेतको एकीकृत तथ्यांक राख्ने हो भने वार्षिक २५ अर्बभन्दा बढी रहेको महासंघ अध्यक्ष प्रचण्ड शाक्य बताउनुहुन्छ।

 

हस्तकला क्षेत्रमा विशेष गरी स्वदेशी कच्चा पदार्थको प्रयोग नै बढी गर्ने गरेको छ र यसबाट स्वदेशी श्रम र सीप समेतको मूल्य अभिवृद्धि हुँदा निर्यात क्षेत्रमा यो विकल्प रहित वस्तुका रुपमा विकास भइरहेको छ । यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष गरी वार्षिक ११ लाखभन्दा बढीलाई रोजगारी दिइरहेको महासंघको भनाइ छ ।

हस्तकला क्षेत्रको प्रवद्र्धनका निमित्त महासंघले २०४८ सालदेखि नै प्रत्येक वर्ष हस्तकला व्यापार मेला आयोजना गर्दै आएको छ । यो व्यापार मेला सञ्चालनका लागि नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रबाट बर्सेनि सहयोग रहेको छ । हस्तकला व्यापार मेलाको २० औं संस्करण सम्म आइपुग्दा हस्तकलाको सामूहिक बजारीकरणका लागि पनि मेला निकै सहयोगी सावित हुँदै आएको छ ।