नेपालको वैदेशिक लगानीमा क्रमिक सुधार हुँदै
2023-12-19 16:33:50cri
Share with:

चालु आर्थिक वर्षमा वैदेशिक लगानी प्रतिवद्धतामा तीव्र उतारचढाव देखिए पनि खुद प्रत्यक्ष वैदेशिक लगानीमा भने निरन्तर सुधार देखिएको छ । सरकारले यसै वर्ष लगानी सम्मेलन गर्ने तयारी गरिरहँदा वैदेशिक लगानीमा सुधार देखिएको हो। वैदेशिक लगानीसम्बन्धी प्रारम्भिक प्रक्रियाको तथ्यांक राख्ने उद्योग विभागमा यो वर्ष वैदेशिक लगानीका उद्योग दर्ता सामान्य बढे पनि राष्ट्र बैंकमार्फत भित्रिने खुद वैदेशिक लगानीमा भने उत्साहजनक वृद्धि देखिएको छ ।

 

केन्द्रीय बैंकको तथ्यांकअनुसार चालु आवको पहिलो महिना साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोडले धनात्मक थियो । अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो लगानी एक अर्ब ४० करोड ऋणात्मक थियो । लाभांश र रोयल्टीबापत बाहिरिएको रकम बढी भएको अवस्थामा खुद प्रत्यक्ष वैदेशिक लगानी ऋणात्मक देखिएको कारोबार अनलाइनले जनाएको छ।

 

यो वर्षको भदौमा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्बले धनात्मक थियो भने अघिल्लो वर्षको सोही अवधिमा ८० करोड ९७ लाखले ऋणात्मक थियो । यस्तै, यो असोजमा ३ अर्ब ३७ करोडले धनात्मक रहेकोमा अघिल्लो वर्षको सोही अवधिमा ७ करोड ९६ लाखले धनात्मक रहेको केन्द्रीय बैंकको तथ्यांक छ ।

 

गत कात्तिकसम्ममा खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ६४ करोड भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी ४२ करोड ९२ लाख रुपैयाँमा सीमित थियो । यता, उद्योग विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक लगानी उत्साहजनक रुपमा बढेको छ । यो महिना करिब १२ अर्ब प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको विभागले जनाएको छ । अघिल्लो आवको साउनको तुलनामा चालु आवको साउनमा साढे चार गुणा लगानी बढेको हो ।

 

अघिल्लो साउनमा २ अर्ब ६४ करोड लगानी प्रतिवद्धता आएको थियो । साउनमा उत्साहजनक रुपमा बढेको प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता दोस्रो महिना भने धेरै घटेको थियो । विभागका अनुसार भदौमा २ अर्ब ७२ करोड नयाँ लगानी प्रतिवद्धतासहित सेयर खरिद अनुमति, प्रविधि हस्तान्तरण सम्झौता शीर्षकमा ३ अर्ब ८ करोड वैदेशिक लगानी स्वीकृत भएको तथ्यांक छ । अघिल्लो वर्षको भदौमा ३ अर्ब ४४ करोड लगानी स्वीकृत भएको थियो । विभागका अनुसार भदौमा गरिएको लगानी स्वीकृति अघिल्लो महिनाको तुलनामा झन्डै चार गुणा कम हो ।

 

असोजदेखि मंसिरसम्मको वैदेशिक लगानी प्रतिवद्धतामा भने ठूलो उतारचढाव छैन। अघिल्लो आवको असोजमा दुई अर्ब ९२ करोड लगानी प्रतिवद्धता रहेकोमा यो वर्षको असोजमा १ अर्ब ९८ करोड प्रतिवद्धता आएको छ । यसैगरी कात्तिकमा १ अर्ब ७५ करोड र मंसिरमा २ अर्ब २५ करोडको लगानी प्रतिवद्धता रहेको विभागको तथ्यांक छ । मंसिरसम्मको खुद प्रत्यक्ष वैदेशिक लगानीसहित आर्थिक प्रतिवेदन केन्द्रीय बैंकले सार्वजनिक गरिसकेको छैन ।

 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट वैदेशिक लगानीमा संसारभर प्रतिस्पर्धा रहेकाले नेपालले थप सुविधा दिन सकेमात्र सफल हुने बताउँछन् । ‘लगानी भित्र्याउने दौडमा हामीमात्र होइन, अरु धेरै मुलुक छन्,’ भट्ट भन्नुहुन्छ, ‘लगानी भित्र्याउने सवालमा सबैभन्दा महत्वपूर्ण सहज वातावरण नै हो ।’साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरमेन्ट (सावती) का कार्यकारी निर्देशक पारश खरेल नेपालमा स्वीकृत भएको वैदेशिक लगानी प्रतिवद्धताको तुलनामा वास्तविक प्राप्ति करिब एक तिहाइमात्रै रहेको उल्लेख गर्दै समीक्षा आवश्यक रहेको बताउनुहुन्छ।