स्युन् बाजा
2023-12-20 09:23:51cri
Share with:

 

स्युन् बाजा चीनको सबैभन्दा प्राचीन फुकेर बजाइने बाजामध्येको एक हो। त्यसको इतिहास सात हजार वर्ष लामो छ।
पहिलेको परम्परागत भनाइ अनुसार, स्युन् बाजा " लिउ सिन" नामक शिकारको साधनबाट परिवर्तित भएर आएको हो। प्राचीन कालका मानिसहरुले सधैं नै घुयँत्राको सहाराले ढुंगा वा माटाका मट्याङ्ग्राले चरा वा जनावरहरुलाई हान्दै तीनीहरुलाई लखेट्ने गर्दथे। केही गोलाकार ढुंगाका बीचमा खोक्रो थियो। सो ढुंगालाई फ्याँक्दा आवाज निस्कन्थ्यो। पछि मानिसहरुले त्यहीं गोलाकार ढुंगालाई ल्याएर फुक्नथाले। र अनि विस्तारै-विस्तारै त्यो "श लिउ सिन" नामक गोलो स्युन् बाजाका रुपमा बन्नपुगेको थियो।      

      पहिले-पहिले स्युन् बाजालाई धेरैजसो ढुंगा वा हाडबाट बनाइन्थ्यो। त्यसपछि विस्तारै-विस्तारै विकसित भएर त्यसलाई माटोबाट बनाउन थालिएको हो। त्यो बाजा विभिन्न आकारको छ जसमध्ये नास्पाति आकारको "श लिउ सिन" सबैभन्दा सामान्य छ।

    स्युन् बाजाको टुप्पोमा फूक्ने प्वाल हुन्छ। त्यसको मुनि समतर बनाइएको छ। छेउमा आवाज निकालिने प्वाल छ। सबैभन्दा पहिलेको स्युन् बाजामा यौटा मात्र प्वाल थियो। पछि गएर त्यसमा धेरै प्वालहरु बनाउन थालियो। अनि इसा पूर्व तेस्रो शताव्दीको अन्तसम्ममा यसमा छवटा प्वाल देखापरेका थिए।


     

चीन सङ्गीत अध्ययन संस्थानका प्रोफेसर छाओ चनले बीसौं सताव्दीको तीसको दशकको अन्तदेखि माटोको प्राचीन स्युन् बाजा बनाउन थाल्नुभयो। पछि थिआन् चिन् सङ्गीत अध्ययन संस्थानका प्रोफेसर छन् चोंगले प्राचीनकालको नास्पातीको आकारको छवटा प्वाल भएको स्युन् बाजाको आधारमा नौवटा स्वर निकाल्नसकिने नयाँ खालको माटाको स्युन् बाजाको निर्माण गर्नुभयो। त्यसलाई च्यांग सु प्रान्तको यी सिन शहरको माटोबाट बनाइएको थियो। त्यस स्युन् बाजाले परम्परागत स्युन् बाजाको आकार र स्वरको विशेषतालाई कायम राख्नुका साथै स्वरको गुणस्तरलाई माथि उकासेको छ र स्वरको क्षेत्रलाई पनि विस्तारित पारेको छ जसले गर्दा त्यो लय बदल्नसकिने बाजा बनेको छ। त्यसमा नौवटा प्वाल भएकाले बजाउन झन् सजिलो छ र त्यसलाई एक्लै र सामूहिक रुपमा बजाउन सकिन्छ र अरु सङ्गीतका लागि साथ दिने बाजाका रुपमा पनि त्यसको प्रयोग गर्न सकिन्छ।

     
नौवटा प्वाल भएको माटाको स्युन् बाजाको उत्पत्तिबाट चीनको प्राचीन स्युन् बाजा जीवित भएको छ। केही समयपछि प्रोफेसर छन् चोंगका अन्य चेला, हु पै प्रान्तको नाट्य मण्डलीका चाउ ल्यांग शानले गुलाफी रंगको काठद्बारा दशवटा प्वाल भएको स्युन् बाजा बनाउनुभयो जसबाट स्युन् बाजाबाट उच्च स्वर निकाल्न नसकिने समस्याको समाधान भएको छ।
     
चीनको सङ्गीतको इतिहासमा स्युन् बाजाको उपयोग धेरैजसो दरबारीया सङ्गीतमा गरिन्थ्यो। दरबारीया सङ्गीतमा स्युन् बाजा प्रशंसा स्युन् बाजा र कुलीन बाजाका रुपमा विभाजित छ। प्रशंसा स्युन् बाजाको आकार अलि सानो र अण्डाकारको छ जसको स्वर तुलनात्मक रुपा उच्च हुन्छ। कुलीन स्युन् बाजा अलि ठूलो हुन्छ जसको स्वर अलि न्यूनस्तरको छ। साधारणतया स्युन् बाजा बाँसबाट बनाइएका अन्य फुकेर बजाइने बाजाका साथ बजाइन्छ।