नेपालमा मा १९ वटा पाँच तारे होटल दर्ता, १८ वटा सञ्चालनमा
2023-12-20 17:20:16cri
Share with:

मुलुकमा १९ वटा पाँच तारे होटल दर्ता भएका छन्, ती मध्ये १८ वटा सञ्चालनमा छन्। सञ्चालित पाँचतारे होटलमा कुल लगानी करिब २७ अर्बं रूपैयाँ पुगेको छ। पर्यटन विभागको तथ्यांक अनुसार पाँच तारे होटलहरूमध्ये १८ वटाको कुल लगानी २६ अर्ब ९८ करोड २५ लाख ४१ हजार रूपैयाँ रहेको छ। 

 

यसैक्रममा कोभिड यता पछिल्लो तीन वर्षमा मुलुकमा चार वटा पाँच तारे होटल थपिएका छन्। अर्बौं लगानी गरेर सञ्चालनमा आएका यी पाँच तारे होटलहरूले मुलुकको पर्यटन प्रवर्द्धनलाई महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। विभागको तथ्यांक अनुसार सबैभन्दा बढी लगानी ठमेल स्थित होटल अलफ्टले गरेको छ। अलफ्ट होटलको कुल लागत पाँच अर्बको रहेको छ। महेश्वरप्रकाश श्रेष्ठ मुख्य सञ्चालक तथा सेयरधनी रहेको होटल अलफ्टमा १६७ वटा कोठा र २१६ बेड छन्। 

 

अलफ्टपछि काठमाडौंको हायात प्लेस, होटल ल्हासा इन्टरनेसनल र बाराको इच्छा होटलमा सबैभन्दा धेरै लागत लागेको छ। हायात प्लेस र इच्छा होटलको प्रमुख सञ्चालक र शेयरधनी एकै व्यक्ति रहेका छन्। प्रमुख सञ्चालक र सेयरधनी शक्तिकुमार गोल्यान रहेको हायात र इच्छा होटल प्रत्येकको लगानी दुई अर्ब ८० करोड रहेको छ। हायात प्लेसमा १५३ वटा कोठा र ३०६ बेड क्षमता छ भने इच्छा होटलमो ८९ वटा कोठा र १०० बेड छन्। साथै दोर्जे ग्ल्याजेन लामा प्रमुख सञ्चालक र सेयरधनी रहेको होटल ल्हासा इन्टरनेसनलको लागत पनि दुई अर्ब ८० करोड छ। जसको कोठा १०७ वटा र बेड क्षमता १७७ छ। यस्तै महामारीपछिका पछिल्ला तीन वर्षमा चार वटा पाँच तारे होटल सञ्चालन हुन थालेका छन्। बिर्तामोडको होटल द किङ्सबरी, तहाचलको हायात प्लेस, सिमराको इच्छा होटल र लाजिम्पाटको होटल ल्हासा इन्टरनेसनल होटल गरी चार वटा पाँच तारे होटल सञ्चालनमा आएका नागरिकन्यूज डटकमले लेखेको छ।

कोभिडपछि विभागमा दर्ता भएको पाँच तारे होटल होटल द किङ्सबरीको कुल लागत दुई अर्ब रहेको छ। यस होटलको सञ्चालकमा प्रकाश गोतामे रहेका छन् भने होटलमा ८२ कोठा र सय बेड छन्। यस्तै तहाचलको हायात प्लेसको कुल लागत २ अर्ब ८० करोड रहेको छ। सञ्चालक तथा सेयरधनी शक्तिकुमार गोल्यानसमेत रहेको होटलमा १५३ कोठा र ३०६ बेड छन्। सिमराको इच्छा होटलको कुल लगानी पुँजी दुई अर्बं ८० करोड रहेको छ। ८९ कोठा र सय बेड क्षमता रहेको यस होटलको मुख्य सञ्चालक तथा शेयरधनी पनि शक्तिकुमार गोल्यान नै रहेका छन्।

 

लाजिम्पाटस्थित होटल ल्हासा इन्टरनेसनलको कुल लागत पनि दुई अर्ब ८० करोड नै रहेको छ। १७७ बेड क्षमता र १०७ कोठा संख्या रहेको होटल ल्हासा इन्टरनेसनलको मुख्य सञ्चालक तथा सेयरधनी दोर्जे ग्याल्छेन लामा रहेका छन्। २०२९ सालमा सोल्टी होटल खुलेसँगै नेपालमा पाँच तारे होटलहरू सञ्चालन हुन थालेको हो। सोल्टी होटलदेखि होटल ल्हासा इन्टरनेसनलसम्म आइपुग्दा पाँच तारे होटल सञ्चालन हुन थालेको ५२ वर्ष पुगेको छ। 

 

कोभिड महामारी मत्थर भएसँगै मुलुकमा तारे होटलहरू थपिन थालेका छन् । मुलुकमा विदेशी पर्यटको आगमन र गतिविधि क्रमिक रूपले बढेसँगै तारे होटल निमार्णमा लगानी थपिएको छ । द्रुत गतिमा भएको आर्थिक विकासको उपज नै पछिल्लो समय होटलहरूको उल्लेख्य वृद्धि भएको होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहले बताए। उनले दुई विशाल मुलुकहरू बीचमा रहेको नेपाल पर्यटनको लागि राम्रो सम्भावना बोकेको मुलुक भएको बताउँदै भने, ‘चीनबाट १० करोड र भारतबाट २० करोड पर्यटक विश्वव्यापी रूपमा घुम्ने गर्छन् । हाम्रो मुलुक बीचमा भएका कारण हामी कहीं न कहीं यसबाट जोडिन सक्छौं। भविष्यमा दुबै देशबाट हाम्रो पर्यटनको लागि अनेक सम्भावना देखिन्छ।’