रोजगारीका लागि विदेश जाने नेपालीको संख्या अझै बढ्दै
2023-12-21 17:05:27cri
Share with:

मुलुकको अर्थतन्त्र शिथिल बनेका कारण स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुँदा काम खोज्नका लागि विदेश जानेको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षका पाँच महिनामध्ये कात्तिकबाहेक अन्य महिना रोजगारीमा जानेको संख्या बढेको छ। नेपालीहरुका ठूला चाड दसैं, तिहार भएका कारण यो महिना भने विदेशिनेको संख्या नबढेको हो । पछिल्लो महिना मंसिरमा झण्डै पौने एक लाखको संख्यामा नेपालीहरु कामका लागि विदेशिएका छन् ।

 

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मंसिरमा ७१ हजार २७६ युवाले वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिएका छन् । गत वर्षको मंसिरमा यो संख्या ६८ हजार ५६४ थियो । गत आवको सोही अवधिको तुलनामा श्रमस्वीकृति संख्या बढेका कारण चालु आवमा पनि विदेश जानेको संख्या उच्च हुने संकेत देखिएको कारोबार अनलाइनले जनाएको छ।

 

चालु वर्षको मंसिरसम्म वैदेशिक रोजगारीमा जानेको संख्या २ लाख ७७ हजार पुगेको छ । गत आर्थिक वर्षको मंसिरसम्म श्रमस्वीकृति लिनेको संख्या ३ लाख २४ हजार २४३ थियो । गत वर्षको सोही अवधिको तुलनामा कम भए पनि यो वर्ष औषतभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने देखिएको छ ।

 

वैदेशिक रोजगार विभागका निर्देशक लोकनाथ भुसालले चाडपर्वका कारण रोकिएका युवा विदेश जान सुरु गरेकाले संख्या बढेको जानकारी दिए । मंसिरमा नयाँको तुलनामा पुनः श्रमस्वीकृति बढेका कारण समग्र श्रमस्वीकृति संख्या बढेको हो । दशैं, तिहार र छठपछि पुनः श्रमस्वीकृतिको संख्या बढ्ने गर्छ । चालु आवको कात्तिकसम्म औसत श्रमस्वीकृति लिनेको संख्या कम भएपनि मंसिरमा भने बढेको विभागको भनाइ छ ।