कोरोनाको नयाँ भेरियन्ट : सतर्कता अपनाऔं, आत्तिनुपर्दैन
2023-12-22 16:30:50cri
Share with:

कोभिड–१९ को नयाँ भेरिएन्ट ‘जेएन–१’ भन्दाबढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन्। हिन्दुस्थान टाइम्सका अनुसार, भारतमा पछिल्लो २४ घण्टामा ३०० जनामा संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ । जेएन–१ नामक नयाँ भेरिएन्ट चीन, अमेरिका, बेलायत लगायतका देशमा पनि पुष्टि भएको छ ।

कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुन बताउनुहुन्छ। तर ओमिक्रोनकै सबभेरियन्ट भएकाले डेल्टाजस्तो घातक नहुने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘कोरोना विरुद्धको खोपले ओमिक्रोनबाट जति सुरक्षित राख्थ्यो, जेएन–१ संक्रमणले त्यसलाई घटाउने देखिँदैन ।’

 

विगतको ट्रेन्ड हेर्ने हो भने भारतमा संक्रमण फैलिएको केही समयपछि नेपालमा देखिएको थियो । अहिले भेटिएको नयाँ भेरियन्ट भारतको विभिन्न ठाँउमा देखिएकाले नेपालमा पनि फैलिने सम्भावना रहेको विज्ञहरु बताउँछन् । डा. पुन भने कडा खालको रुवाखोकी र ज्वरोका बिरामी बढ्दै गएकाले जेएन–१ नेपालमा फैलिएको हुनसक्ने आंकलन गर्नुहुन्छ। ‘केही हप्तादेखि मानिसमा कडा खालको खोकी देखिएको छ’ डा. पुन भन्नुहुन्छ, ‘भारतमा जेएन–१ पुष्टि भएसँगै हामीकहाँ फैलिएको हुनसक्छ । तर यसबारे कुनै अनुसन्धान भएको छैन ।’

संक्रमण धेरै फैलिएपनि स्वास्थ्यमा गम्भीर खतरा कम हुने विज्ञहरुको विश्लेषण छ। धुलिखेल अस्पतालका मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबका प्रमुख डा. राजीव श्रेष्ठ भन्नुहुन्छ, ‘खोपको कभरेज राम्रो भएकाले नयाँ भेरियन्टसँग अत्तिनु पर्दैन ।’तर वृद्धवृद्धालाई वा अरु स्वास्थ्य समस्या रहेका मानिसलाई गम्भीर बिरामी बनाउनसक्ने जोखिम रहेको अनलाइनखबरमा समाचार छ।