चीनको आधुनिकीकरण र राजनीतिक प्रणालीबारेको सेमिनारमा नेपाली सांसदहरू
2023-12-22 16:28:39cri
Share with:

चीनको १० दिने भ्रमणमा रहेको नेपाली सांसदहरूले टोलीले बेइजिङमा चिनियाँ आधुनिकीकरण, विकास गति र राजनीतिक प्रणालीका विषयमा जानकारी लिइरहेको छ। चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस (एनपीसी)को निमन्त्रणामा नेपाली विधायिकाहरूको टोलीले चीनले हासिल गरेको विकास उपलब्धी, चिनियाँ कम्युनिष्ट पार्टीको जनतासँग प्रत्यक्ष जोडिने तरीका लगायतका विषयमा जानकारी लिइरहेको हो।

 

नेपाली टोलीको नेतृत्व गरेका नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले चीनको कम्युनिष्ट पार्टीले कसरी जनताबाट रायसुझाव संकलन गर्दछ भन्नेबारेमा जानकारी गराइएको बताउनुभयो। ग्रेट हल अफ द पिपुल्सका विभिन्न कक्षको अवलोकनका साथ जनसरोकारसँग जोडिने एनपीसीको तौरतरीकाबारे प्रत्यक्ष जानकारी लिएको बताउँदै उहाँले नेपालमा जस्तै समानुपातिक, समावेशी प्रणाली चीनमा पनि रहेको पाएको बताउनुभयो।

 

यसअघि बुधबार सेमिनार उद्घाटनमा बोल्दै पाण्डेले नेपाल र चीनका विधायिका संस्थाबीचको आउजाउले आपसी जनस्तरीय सम्बन्ध प्रगाढ बनेको चर्चा गर्नुभयो।  यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा भएका सहमतिहरूको कार्यान्वयनमा उहाँले जोड दिनुभयो। सी चिनफिङको नेतृत्वमा चीनले हासिल गरेको विकास उपलब्धीको प्रशंसा गर्दै उहाँले नेपाल पनि त्यसबाट लाभान्वित हुन चाहेको सुनाउनुभयो।

‘चीन-नेपाल विधायिका निकायबीचको आदानप्रदानको सुदृढीकरण तथा साझा विकासका लागि सहकार्य’भन्ने भावार्थका साथ चीनको वाणिज्य मन्त्रालय, अन्तर्राष्ट्रिय बिजनेस अफिसियल्स ट्रेनिङ इन्स्टिच्युटले ‘नेपाली सांसदका लागि सेमिनार’आयोजना गरेको कान्तिपुर अनलाइनले जनाएको छ।  

इन्स्टिच्युटका अध्यक्ष सुन चोङ हका अनुसार  सन् २०१० देखियता चीनले ७ हजार ७ सय भन्दा बढी अधिकारीहरू तथा विभिन्न क्षेत्रका प्राविधिक जनशक्तिलाई वैदेशिक सहायता परियोजना अन्तर्गत तालिम प्रदान गर्दैआएको छ।

धादिङबाट नेपाली कांग्रेसका सांसद रामनाथ अधिकारीले चीनको विकाससम्बन्धी धेरै कुरा बुझ्न पाइएको बताउनुभयो। चीनको तीव्रतर विकासको अध्ययन गर्नका लागि नानचिङ र कुइयाङ सहर पनि पुग्ने योजना रहेको भन्दै उहाँले त्यहाँ पुगेर स्थानीय सर्वसाधारणसँगै अवलोकन भ्रमण गरेपछि थप खुलस्त हुने प्रतिक्रिया दिनुभयो। कास्कीका एमाले सांसद दामोदर पौडेल बैरागीले मानव र पर्यावरणबीचको सन्तुलन कायम गर्दै मानवीय क्षमताले समृद्धि प्राप्त गर्न सकिने कुरा लेक्चरमा प्रस्तुत गरिएको बताउनुभयो। चीनको वैज्ञानिक समाजवाद र आधुनिकीकरणको विकासक्रमबारे जानकारी लिनुका साथै बाह्य दुनियाँबाट हेर्दा एउटा देखिने चीनले भित्र चाहिँ जनताका आवाजलाई कसरी योजना बनाउँदै कार्यान्वयनमा लैजान्छ भन्ने कुराको जानकारी हासिल गरिएको सुनाउनुभयो।

सेमिनारमा नेपालका २० भन्दा बढी सांसदहरूले भाग लिएका छन्। चीन भ्रमणका क्रममा नेपाली सांसदहरूको टोलीले चिनियाँ जनताको पूर्ण प्रजातान्त्रिक प्रक्रिया अभ्यास र चिनियाँ शैलीको आधुनिकीकरणको जानकारी हासिल गर्ने योजना छ। शनिबारसम्म बेइजिङ भ्रमण गरेपछि यो टोलीले  च्याङ्सु प्रान्त र क्वीचौ प्रान्तको भ्रमण गर्ने योजना रहेको चिनियाँ संचारमाध्यमहरूले जनाएका छन्। गत सोमबार काठमाडौंबाट बेइजिङ हिँडेको संसदीय टोलीमा नेपाली कांग्रेस र नेकपा एमालेका ५/५ जना, नेकपा माओवादी केन्द्रका ३ जना तथा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट एक–एक जना सांसद सहभागी रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो। टोली पुस १४ गते नेपाल फर्किने कार्यक्रम छ। बिहीबार साँझ बेइजिङस्थित नेपाली दूतावासले सांसदहरूको स्वागतमा रात्रीभोजको आयोजना गरेको थियो।