जलवायु सङ्कट परिणामबारे बुझ्न मलेसियाका वातावरण शिक्षकको टोली नेपालमा, हिमाली क्षेत्र तथा हिमतालको बारेमा अध्ययन गर्दै
2023-12-23 16:41:50cri
Share with:

 

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेर्रेस कास्की आएको करिब दुई महिनापछि जलवायु सङ्कटका दुष्परिणाम हेर्न मलेसियाका वातावरण शिक्षकको टोली कास्की आएका छन्। महासचिव गुटेर्रेसले पुम्दीकोट र अन्नपूर्ण बेस क्याम्पबाट हिमाल, ताल र यहाँको वातावरण अवलोकन गर्नुभएको थियो। मलेसियन शिक्षकको टोली भने शुक्रबार सिक्लेस पुगेका हुन्।

 

मादी गाउँपालिका–१ को पर्यटकीय गाउँ सिक्लेसमा टोलीले नजिकै रहेको कफुचे हिमतालको परिवर्तित अवस्था, अन्नपूर्ण दोस्रो, अन्नपूर्ण चौंथो र लमजुङ हिमालमा जलवायु परिवर्तनबाट देखिएको परिवर्तनबारे स्थानीयसँग छलफल गरेको छ । वर्ड लाइफ इन्टरनेसनल (एसिया), मलेसियन नेचर सोसाइटी र वर्ड कन्जरभेसन नेपालको सहकार्यमा मलेसियन शिक्षकहरू सिक्लेसमा आएको गोरखापत्र अनलाइनले जनाएको छ।

 

सो अवसरमा मादी वडा नम्बर १ सिक्लेसको अन्नपूर्ण माध्यमिक विद्यालय र मलेसियाको बटुकेपमा रहेको एसएमके तामान सलायङ माविबिच वातावरणीय शिक्षा विषयलाई प्रभावकारी बनाउन सहकार्य गर्ने समझदारी भएको छ। अन्नपूर्ण माविसँग मलेसियाका दुई स्कुलबिच मितेरी साइनोसमेत गाँसिएको छ। अन्नपूर्णसँग एसएमके तामान र एसएमके ला सलेसेन्टल मावि क्वालालाम्पुरबिच मितेरी लगाइएको हो ।

 

वातावरणबारे विद्यार्थीलाई सचेत बनाउन वातावरण शिक्षालाई प्रभावकारी बनाउन शिक्षण विधि तथा पठनपाठनका अनुभव आदानप्रदान गर्ने, बेला बेलामा अध्ययन भ्रमण गर्ने, तालिम, सेमिनारहरू आयोजना गर्ने सहमति भएको अन्नपूर्ण माविका प्रधानाध्यापक शङ्कर खनाल बताउनुहुन्छ । एसएमके तामन सेलयाङ बटुकेभकी शिक्षक केली शिवा गुरु, एसएमके ला सले सेन्टुल क्वालालाम्पुरकी प्रिन्सिपल कृष्णकुमारी नाइडु लगायतले सिक्लेसको सौन्दर्य र जलवायु परिवर्तनबारे धारणा राख्नुभएको थियो ।

 

मलेसियाका दुई विद्यालयले अन्नपूर्ण माविलाई स्टेसनरी प्रदान गरेका छन् भने त्यहाँको पुस्तकालयलाई पुस्तक उपलब्ध गराउने वाचा समेत गरेका छन् । वर्ड लाइफ इन्टरनेसनल एसियाका पार्टनरसीप म्यमानेजर डा हुमबहादुर गुरुङले यस्ता गतिविधिले वातावरण शिक्षालाई गुणस्तरीय बनाउन र जलवायु सङ्कट सामना गर्ने उपाय खोज्न सघाउने अपेक्षा गर्नुभयो ।

 

मलेसिया नेचर सोसाइटीका निर्देशक आइएस सनमुगरा सुबरमनियमले विश्वमा बढ्दो तापक्रमले मानवसहित सबै वन्यजन्तुले सकस व्यहोर्नुपरेको र समयमै यसबारे गम्भीर नभए ठुलो सङ्कट आउन सक्ने चेतावनी दिनुभयो ।

 

“जलवायु परिवर्तनले यहाँका हिमाल काला हुँदै गए, उता समुद्रको सतह बढेर हामीजस्ता तटीय क्षेत्रका बासिन्दालाई डुबानको जोखिम बढ्दै गयो,” उहाँ भन्नुहुन्छ । सोसाइटीका निर्देशक आइएस सनमुगरा सुबरमनियमले पाँच वर्षअभि आउँदा देखेको सिक्लेस र अहिलेको सिक्लेसमा परिवर्तन देखिएको भन्दै चिन्ता जनाउनुभयो ।