नेपालीका लागि युएई नै पहिलो श्रम गन्तव्य
2023-12-23 16:57:04cri
Share with:

पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ । वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिर महिनामा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन् । अघिल्लो वर्ष मङ्सिर महिनामा तेस्रो श्रम गन्तव्य देश रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलो श्रम गन्तव्य बन्न सफल भएको छ।

 

विभागका अनुसार चालु आर्थिक वर्षको मङ्सिर महिनामा ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएकोमा युएई पहिलो श्रम गन्तव्य देश बनेको हो । विभागका अनुसार कतारका लागि १४ हजार १५९ जनाले श्रम स्वीकृति लिएर दोस्रो श्रम गन्तव्य देश भएको छ । जबकी अघिल्लो आव मङ्सिर महिनामा कतार चौथोमा थियो । यो वर्ष मङ्सिरमा मलेसियाका लागि नौ हजार ७७५ जनाले मात्रै श्रम स्वीकृति लिएर चौथो श्रम गन्तव्य देश भएको छ । विभागका अनुसार यस वर्षको मङ्सिर महिनामा साउदी अरबका लागि १३ हजार ९८३ जनाले श्रम स्वीकृति लिएका छन् ।

 

विभागका अनुसार चालु आव २०८०/८१ को पहिला पाँच महिनामा रोजगारीका लागि बिदेसिएकामध्ये सबैभन्दा धेरै मङ्सिरमा गएका छन् । मङ्सिर महिनामा ७१ हजार २७६ युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् । विभागका अनुसार चालु आवका पाँच महिनामध्ये कात्तिकबाहेक अन्य महिना रोजगारीमा जानेको सङ्ख्या ५० हजारभन्दामाथि नाघेको छ । कात्तिकमा नेपालीको ठुला चाडपर्व दसैँ, तिहार भएका कारण यो महिना भने बिदेसिनेको सङ्ख्या नबढेको हो। गत आव २०७९/८० को मङ्सिरमा श्रम स्वीकृति सङ्ख्या ६८ हजार ५६४ थियो । गत आवको सोही अवधिको तुलनामा श्रम स्वीकृति सङ्ख्या बढेका कारण चालु आवमा पनि विदेश जानेको सङ्ख्या उच्च हुने सङ्केत देखिएको गोरखापत्र अनलाइनले लेख्दछ।

चालु वर्षको मङ्सिरसम्म वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दुई लाख ७७ हजार पुगेको छ । गत आवको मङ्सिरसम्म श्रम स्वीकृति लिनेको सङ्ख्या तीन लाख २४ हजार २४३ थियो । गत वर्षको सोही अवधिको तुलनामा कम भए पनि यो वर्ष औसतभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने देखिएको छ ।

 

विभागका निर्देशक एवं प्रवक्ता कविराज उप्रेतिले चाडपर्वका कारण रोकिएका युवा विदेश जान सुरु गरेकाले सङ्ख्या बढेको जानकारी दिनुभयो । मङ्सिरमा नयाँको तुलनामा पुनः श्रम स्वीकृति बढेका कारण समग्र श्रम स्वीकृति सङ्ख्या बढेको हो । दसैँ, तिहार र छठपछि पुनः श्रम स्वीकृतिको सङ्ख्या बढ्ने गर्छ । चालु आवको कात्तिकसम्म औसत श्रम स्वीकृति लिनेको सङ्ख्या कम भए पनि मङ्सिरमा भने बढेको विभागको भनाइ छ ।

 

चालु आवको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३४ श्रम स्वीकृति लिएका छन् भने कात्तिकमा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । मलेसिया जाने नेपालीको सङ्ख्या घटेसँगै यो वर्षको सुरुमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा धक्का लागेको थियो । कोभिड महामारीपछि आव २०७८/७९ बाट लयमा फर्किएको वैदेशिक रोजगारी चालु आवको सुरुको महिनाबाट घट्न थालेको भए पनि मङ्सिरको तथ्याङ्कले वैदेशिक रोजगारीको अवस्थामा सुधार आउने देखिएको छ ।

 

गत आव सात लाख ७१ हजार ३२७ युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । अघिल्लो आव २०७८/७९ मा यो सङ्ख्या छ लाख ३० हजार ९० ले श्रम स्वीकृति लिएर बिदेसिएका थिए।