पर्यटकीय नगरी पोखरामा सडक खाना महोत्सव हुँदै, चितवनमा ‘नेपाल फर्मा एक्स्पो’
2023-12-23 16:55:52cri
Share with:

नेपालका दुई पर्यटकीय क्षेत्रमा महत्वपूर्ण दुई महोत्सव हुने भएका छन्। पर्यटकीय नगरी पोखरामा सडक खाना महोत्सव हुँदैछ भने चितवनमा ‘नेपाल फर्मा एक्स्पो’आयोजना गरिँदैछ।  

अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पोखरामा ‘स्ट्रिट फुड फेस्टिभल’कार्यक्रमको आयोजना हुने भएको छ। राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै महोत्सव आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) ले १२-१६ पुससम्म सडक महोत्सव हुने जानकारी दिएको हो। महोत्सव आयोजनाको रजत वर्ष भएकाले यसपटक महोत्सवलाई विशेष बनाउन सोही अनुसारको विशेष तयारी भएको आयोजकले जनाएको छ।‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने मूल नारासहित आयोजना हुने यस महोत्सव पोखराको लेक साइडसम्मको करिब ३ किमी क्षेत्रमा आयोजना हुने अनलाइन खबरले जनाएको छ।

 

रेवान अध्यक्ष नरेश भट्टराईले महोत्सवको तयारी सकिएको र पोखरा पर्यटकहरुलाई स्वागत गर्न तयार भएर बसेको बताउनुभयो।‘२५ वर्ष पहिले हाम्रा अग्रजहरुले पोखरालाई मुख्य पर्यटकीय मौसममा मात्र नभई सालैभर घुमघामको गन्तव्य बनाउनुपर्छ भनेर यसको सुरुवात गर्नुभएको थियो । आज यो देशकै सबैभन्दा ठूलो सडक महोत्सव बनेको छ। यो रजत वर्ष अझ विशेष बनाउनेछौं, रेवान अध्यक्ष भट्टराईले भन्नुभयो।

 

यसैबीच नवौं नेपाल फर्मा एक्स्पो, २०२४ आगामी फागुन २५ देखि २७ गतेसम्म चितवनमा सञ्चालन हुने भएको छ। नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चितवनको भरतपुरमा एक्स्पो आयोजना हुने जानकारी गराएको हो। फागुन २५ देखि २७ गते (मार्च ८ देखि १०) सम्म चितवनमा हुने एक्स्पोमा धेरै किसिमका औषधि उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई देखाइनेछ। पत्रकार सम्मेलनमा बोल्दै एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले एक्स्पोमा नेपालमा औषधि उद्योगको दिगोपन र वृद्धिका अगुवाईलाई मुख्य नारा बनाइएको जनाउनुभयो। एक्स्पोमा १५० भन्दा बढी स्टलहरु रहने र यसमा भारत, चीन, बंगलादेश, नेपाल, सिंगापुरका स्टलहरु रहने नेपालखबर अनलाइनले जनाएको छ।

 

नेपालको औषधि उद्योगको सबैभन्दा महत्वपूर्ण दाबी गरिएको एक्स्पोमा ३० हजार भन्दा बढी मानिसको उपस्थिति रहने अपेक्षा आयोजकले गरेको छ। यस वर्षको फर्मा एक्स्पोको नारा ‘नेपालमा फर्मा उद्योगको दिगोपन र वृद्धिका लागि अगुवाई’ भन्ने तय गरिएको छ।

कार्यक्रममा बोल्दै एक्स्पोका संयोजक प्रभात रुंगटाले एक्स्पोमा डेढ सय स्टल रहने र अहिले बुकिङको क्रम जारी रहेको बताउनुभयो। उहाँले भारत बाहेक चीन लगायतका औषधि कम्पनीहरुको स्टल १५ वटासम्म रहने र ११० वटा जति स्टल भारतीय औषधि कम्पनीका रहने बताउनुभयो। उहाँले काठमाडौंमा भृकुटीमण्डप मात्रै एक्स्पो सेन्टर रहेको र एक्स्पोका लागि सो समयमा खालि नरहेकाले चितवन रोजेको जानकारी गराउनुभयो।

उहाँले भन्नुभयो, ‘काठमाडौंमा भृकुटीमण्डप मात्रै एग्जिबेसन सेन्टर भयो, त्यो प्याक छ, त्यसपछि बुटवलमा छ, सुदूरपश्चिम पनि गएर गर्नुपर्छ भनेर लागियो तर त्यो सम्भव नभएको देखियो। चितवन भनेको देशकै बीचमा छ। त्यो भएकाले पनि पायक परेको हो।’ एक्स्पो प्रत्येक दुई वर्षमा आयोजना गरिन्छ।