बिम्स्टेक कृषि सहयोग विज्ञ समूहको बैठक नेपालमा सम्पन्न
2023-12-23 16:58:22cri
Share with:

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को कृषि सहयोग विज्ञ समूहको बैठक नेपालमा सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न सो बैठकमा बिम्स्टेकका सदस्य राष्ट्रहरू बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल, श्रीलङ्का र थाइल्यान्डका प्रतिनिधि तथा बिम्स्टेक सचिवालयका प्रतिनिधिसहित ६३ जनाको सहभागिता रहेको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जानकारी दिनुभयो ।

बिम्स्टेकको कृषि क्षेत्र समन्वय सबलीकरणका लागि तयार गरिएको कार्ययोजना २०२३–२०२७ मा भएका प्रगतिका बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो । बिम्स्टेकको कृषि क्षेत्रका लागि आगामी दिनमा सदस्य राष्ट्रहरूले गर्न बाँकी रहेका योजनालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउने सहमति भएको उहाँले बताउनुभयो ।

 

कृषि क्षेत्रलाई प्रभावकारी बनाउनका लागि सदस्य राष्ट्रहरूका बिचमा तालिम तथा गोष्ठीहरू सञ्चालन गर्ने, कृषि क्षेत्रमा स्नातकोत्तर र विद्यावारिधिका विद्यार्थीमा वृद्धि गर्ने विषयमा समेत छलफल भएको उहाँले जानकारी दिनुभयो । बैठकमा खाद्य सुरक्षा र दिगो खाद्य प्रणाली सम्बन्धमा भएको क्षेत्रीय सेमिनार तथा बिम्स्टेक सदस्य राष्ट्रमा बिउको क्षेत्रको विकाससम्बन्धी कार्यशाला गोष्ठीको उपलब्धिका बारेमा छलफल तथा समीक्षा गरी सिफारिसलाई कार्यान्वयनका लागि प्रयास गर्ने सहमति बनेको कृषि मन्त्रालयले जनाएको छ । त्यस्तै बिम्स्टेक र अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान प्रतिष्ठानबिच भएको समझदारी पत्रको बारेमा छलफल भई सहकार्य गर्न सकिने क्षेत्रहरू पहिचान गरी सदस्य राष्ट्रहरूले आयोजना प्रस्ताव तयार गरी बिम्स्टेक सचिवालयमा पेस गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ। कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले बिम्स्टेकका सदस्य राष्ट्रहरूको आपसी सम्बन्ध र सहयोगमा थप विस्तार एवं कृषि क्षेत्रमा थप सहकार्य गर्नका लागि अनुरोध गर्नुभयो।