थप छ वटा औद्योगिक ग्राम घोषणाको तयारी
2023-12-24 16:44:05cri
Share with:

सरकारले विभिन्न स्थानीय तहमा छ वटा औद्योगिक ग्राम घोषणा गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्राम घोषणा गर्न स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पठाइसकेको छ ।  मन्त्रीपरिषद्ले स्वीकृत गरेसँगै थप छ वटा ग्राम घोषणा हुने छन् । मन्त्रालयका अनुसार मधेश प्रदेशको बारास्थित करैयामाई गाउँपालिका, सोही प्रदेशको पर्सास्थित बहुदरमाई नगरपालिकामा ग्राम घोषणा गर्न लागिएको छ । कोशी प्रदेशको तेह्रथुमस्थित फेदाम गाउँपालिकामा ग्राम घोषणा गर्न लागिएको हो ।

 

यस्तै कर्णाली प्रदेशको जुम्लास्थित गुठीचौर गाउँपालिका र सुदूरपश्चिम प्रदेशको दार्चुलाको व्यास गाउँपालिकामा नयाँ औद्योगिक ग्राम घोषणा गर्न लागिएको मन्त्रालयले जनाएको छ । यसअघि १२० स्थानीय तहमा ग्राम घोषणा भइसकेका  छन्  । ११७  स्थानीय   तहले भने  ग्राम  निर्माणका लागि पहिलो किस्ताको रकम लगिसकेको मन्त्रालयले जनाएको छ । पहिलो किस्तामा मन्त्रालयले ९२ लाख रुपियाँ दिने गरेको छ । सरकारले स्थानीयस्तरका प्राकृतिक कच्चा पदार्थ उपयोग उत्पादनमा आत्मनिर्भर भई रोजगारी सिर्जना उद्देश्य अनुरूप स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरिए पनि अझै निर्माण सम्पन्न भई कार्यान्वयनमा आउन सकेको छैन ।

 

सरकारले बर्सेनि औद्योगिक ग्राम घोषणा गर्दै गए पनि अछामको मल्लेख गाउँपालिकाले ग्राम स्थापना भई सञ्चालन ल्याए पनि अन्य ठाउँमा ग्राम निर्माणकै क्रममा रहेका छन् । केही स्थानीय तहमा भने ग्राम निर्माणको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ । ग्राम निर्माणका लागि केन्द्र सरकारबाट गत आर्थिक वर्षसम्म एक अर्ब ३० करोड १४ लाख रुपियाँ विनियोजन भएको छ। मन्त्रालयले ग्राम निर्माणका लागि एउटा स्थानीय तहलाई ९२ लाखदेखि तीन करोड रुपियाँ दिने गरेको छ। ग्राम निर्माण गर्न बाँकी रकम प्रदेश सरकार र स्थानीय तहले हाल्नु पर्छ।