केरुङ रेलमार्गको प्रारम्भिक अध्ययन अन्तिम चरणमा, ७२ किमि दूरीको लागत २ खर्ब ७१ अर्ब ३६ करोड
2023-12-24 16:37:29cri
Share with:

काठमाडौं–केरुङ रेलमार्गअन्तर्गत नुवाकोट, रसुवा र काठमाडौं खण्डमा प्रारिम्भक सर्भे अन्तिम चरणमा पुगेको छ । यसै साताभित्र फिल्ड र ड्रोन सर्भेको काम सकिनेछ । त्यसपछि दोस्रो चरणका रूपमा भौगर्भिक अध्ययन सुरु हुने रेल विभागका महानिर्देशक रोहित बिसुरालले बताउनुभयो। ‘प्रारम्भिक अध्ययनको काम अन्तिम चरणमा छ,’ उहाँले भन्नुभयो, ‘यही साताभित्र ड्रोन सर्भे सकिएलगत्तै दोस्रो चरणको अध्ययन सुरु हुन्छ ।’

 

तेस्रो चरणमा अध्ययनको रिपोर्ट कम्पाइल तयार पारिनेछ । चिनियाँ टोलीले वातावरणीय प्रभाव मूल्यांकनको काम पनि सँगै गर्न भनेकाले यसबारे छलफल भइरहेको बिसुरालले बताउनुभयो। रेलमार्गको सम्भाव्यता अध्ययनका लागि ०७९ पुस तेस्रो साता नेपाल आएको चिनियाँ टोलीले एक वर्ष लगाएर तीन वटै जिल्लामा प्रारम्भिक चरणको अध्ययन गरेको हो । ‘अहिले काठमाडौंतर्फको टोखातिर अध्ययन भइरहेको छ, जहाँ रेलमार्गको अन्तिम बिन्दु काभ्रेस्थली हुनेछ,’ बिसुरालले भन्नुभयो, ‘नुवाकोटमा फिल्ड सर्भे सकिए पनि ड्रोनबाट अध्ययन गर्न छुटेकाले तीन दिनभित्र सक्ने गरी काम हुँदै छ ।’

 

भौगर्भिक रूपमा रेलमार्गमा पर्ने जमिनमुनिको माटोको समेत अध्ययन गरिने उहाँको भनाइ छ । सबै जिल्लामा यसरी अध्ययन हुनेछ । अहिले तीन जना चिनियाँ प्राविधिक टोलीले ड्रोन सर्भे गरिरहेका छन् । ‘पहिला–पहिला एरियल सर्भे हवाईजहाज र हेलिकोप्टरबाट हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘अहिले ड्रोनबाट गर्ने गरिएको छ ।’ त्यो बेला उदयपुरको गाईघाट–दिक्तेल जोड्ने सगरमाथा राजमार्गको एरियल सर्भे हवाई जहाज र हेलिकोप्टरबाट गरिएको थियो । ‘अहिले काठमाडौं–केरुङ रेलमार्गमा एरियल सर्भेका रूपमा ड्रोनबाट अध्ययन गरिएको हो,’ उहाँले भन्नुभयो, ‘जसले गर्दा छिट्टै काम सकियो ।’

कान्तिपुर अनलाइनका अनुसार ड्रोनमार्फत फोटो र भिडियो लिएर सर्भे गरिएको हो । काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमाथि हवाई रुट पर्ने भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरेर ड्रोनमार्फत अध्ययन गर्न केही ढिलाइ भएको हो। यसको अध्ययन ४२ महिनाभित्र सकिसक्नुपर्नेछ । अब अध्ययनको काम सक्न ३० महिना बाँकी छ । उक्त समयभित्र सम्भाव्यता अध्ययनको काम सकिसक्नुपर्नेछ । सुरुमा चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपका ६ जना प्राविधिक टोली सर्भेका लागि आएका थिए ।

 

अहिले फिल्डमा त्यही कम्पनीका प्राविधिकले काम गरिरहेका छन् । त्यसका लागि रेल विभागका प्राविधिक, कर्मचारी र स्थानीय जनप्रतिनिधिले सहयोग गरेका छन् । यो सम्भाव्यता अध्ययन भएकाले यसबाट निर्माणमा लाग्ने लागत, समय र रेलमार्गको कुल दूरी थाहा हुनेछ ।

 

सम्भाव्यता अध्ययनबाट रेलमार्गमा कति वटा सुरुङ, पुल र स्टेसन आवश्यक पर्ने हो, त्यो पनि थाहा हुनेछ । यसमा छुट्टै विस्तृत सर्भे नगरिने र निर्माणका क्रममा विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार पारेर काम अघि बढाइने उहाँको भनाइ छ । जुन बेला निर्माणको काम थालिन्छ, त्यही बेला यसको डीपीआर हुनेछ । यसको अध्ययन चीनले आफ्नै खर्चमा गरिरहेको छ । उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

एक वर्षअघि सर्भे गर्न आएको टोलीले कसरी अध्ययन गरेको छ र के–कति अध्ययन भयो भनेर अनुगमन गर्न गत कात्तिक २३ मा चीनबाट ३ जनाको प्राविधिक टोली आएको थियो । चीन सरकारले पठाएको उक्त टोलीले फिल्डमै पुगेर दुई साता लगाई अनुगमन गरेर फर्किएको थियो । प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्नेछ, जसलाई छेडेर रेलमार्ग बनाइनेछ ।