नेपालमा एक वर्षमा थपिए दुई लाख व्यक्तिगत करदाता
2023-12-25 16:25:04cri
Share with:

नेपालमा एक वर्षको अन्तरमा करिब दुई लाख व्यक्तिगत करदाता थपिएका छन्। अर्थ मन्त्रालयका अनुसार २०७९ कात्तिकदेखि २०८० कात्तिकसम्मको अवधिमा एक लाख ९९ हजार ३६१ जनाले स्थायी लेखा नम्बर लिएर करदाताका रूपमा आफूलाई दर्ता गराएका गोरखापत्र अनलाइनले लेखेको छ। सोही अवधिमा ४१ हजार ८३३ वटा संस्थाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका हुन्। त्यस्तै एक वर्षभित्र दुई हजार १२६ वटा करकट्टी गर्ने निकायले स्थायी लेखा नम्बर लिएको मन्त्रालयको तथ्याङ्क छ। 

मन्त्रालयका अनुसार सबै किसिमका करदाता गरेर मुलुकमा स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या ५७ लाख ९७ हजार ३४६ पुगेको छ। २०७९ कात्तिकमा ५५ लाख ५४ हजार २६ जना करदाता रहेकामा एक वर्षमा दुई लाख ४३ हजार ३२० करदाता थपिँदा कुल करदाताको सङ्ख्या करिब ५८ लाख पुगेको हो। 

एक वर्षको अवधिमा नयाँ करिब १० हजार मूल्य अभिवृद्धि करमा दर्ता भएका छन्। यससँगै मूअ करमा दर्ता हुनेको सङ्ख्या तीन लाख १८ हजार ३६२ पुगेको छ। गत वर्ष कात्तिकमा यस्तो सङ्ख्या तीन लाख आठ हजार ४७७ थियो। त्यस्तै यसबिचमा चार हजार ६४१ वटा निकाय अन्तःशुल्कमा दर्ता भएका छन्। योसहित मूअ करमा दर्ता हुनेको सङ्ख्या एक लाख २१ हजार ३१६ पुगेको छ। 

सरकारले करको दरभन्दा दायरा वृद्धि गर्ने लक्ष्य अनुसार करदाताको सङ्ख्या बढाउने गरी कार्यक्रम कार्यान्वयन गरेको छ। दुई हजार रुपियाँभन्दा बढीको कारोबारमा स्थायी लेखा नम्बर अनिवार्य गरेपछि त्यसले पनि करदाताको सङ्ख्या बढाउन उल्लेख्य भूमिका पुगेको देखिन्छ। करदाताको सङ्ख्या बढे पनि करिब ३० प्रतिशतले भने शून्य कर विवरण बुझाएको आन्तरिक राजस्व विभागको तथ्याङ्क छ। जसले गर्दा करदाताको दर्ता बढे पनि कर राजस्व वृद्धि भने सो अनुरूप बढ्न नसकेको विभागले जनाएको छ।