नेपालको वैदेशिक व्यापारमा ५ महिनामा ५ खर्ब ७९ अर्ब घाटा
2023-12-25 16:27:13cri
Share with:

चालु आर्थिक वर्षको सुरुदेखि ओरालो लागेको नेपालको वैदेशिक व्यापारले मंसिरसम्मै निरन्तरता पाएको छ। भन्सार विभागका अनुसार मंसिरसम्म आयात, निर्यातसहित कुल वैदेशिक व्यापारमा ३.६४ प्रतिशत गिरावट देखिएको छ। गत आवको सुरुका पाँच महिनामा ७ खर्ब ३२ अर्बको वैदेशिक व्यापार भएकोमा चालु आवमा ७ खर्ब ५ अर्बमा सीमित भएको छ। यो गत आवको तुलनामा ३.६४ प्रतिशत कम हो। यसमध्ये आयातमा ३.३९ प्रतिशत र निर्यातमा ६.०९ प्रतिशतको गिरावट आएको कारोबार अनलाइनले लेखेको छ।

अघिल्लो आवका पाँच महिनाामा ६ खर्ब ६४ अर्ब रुपैयाँबराबरको आयात भएको थियो। चालु आवको सोही अवधिमा ६ खर्ब ४२ अर्ब रुपैयाँको वस्तु आयात भएको हो। यस्तै, निर्याततर्फ अघिल्लो आवको मंसिरसम्म ६७ अर्ब ३० करोडका वस्तु निकासी भएकोमा चालु आवमा ६३ अर्ब २० करोड निर्यात भएको छ। विभागका अनुसार यो अवधिमा मुलुकले ५ खर्ब ७९ अर्ब रुपैयाँ व्यापारघाटा व्यहोरेको छ। व्यापार घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.०९ प्रतिशत कम हो। अघिल्लो मंसिरसम्म नेपालले ५ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो।

पाँच महिनाको वैदेशिक व्यापार हेर्दा मुलुक आर्थिक मन्दीको अवस्थाबाट उठ्न नसकेको देखिन्छ। आन्तरिक उत्पादनमा सुधार आउन नसकेको बेला निकासी झनै घटेकाले अर्थतन्त्रमा समस्या रहेको प्रष्ट भएको छ। मंसिरसम्ममा कुल वैदेशिक व्यापारमा निकासीको हिस्सा ८.९६ प्रतिशतमा सीमित भएको छ। अघिल्लो वर्ष यो हिस्सा ९.१९ प्रतिशत थियो।

विभागको तथ्यांकअनुसार मंसिरसम्ममा मुलुकले १ खर्ब ४ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ। यसबाट सरकारले ४० अर्ब ४५ करोड राजस्व संकलन गरे पनि पेट्रोलियम पदार्थको आयात नेपालको कुल निर्यातभन्दा करिब ४१ अर्ब बढी रहेको देखिन्छ। मंसिरसम्ममा ५३ अर्ब ९० करोडको डिजेल, २८ अर्ब ५५ करोडको पेट्रोल, २० अर्ब ६५ करोडको एलपी ग्यास र १ अर्ब १२ करोडको हवाई इन्धन आयात भएको तथ्यांकले देखाएको छ।

नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार मुलुक भारतसँग नेपालले पाँच महिनामा ३ खर्ब ५२ अर्ब व्यापारघाटा व्यहोरेको छ। यो अवधिमा भारतबाट ३ खर्ब ९४ अर्बको आयात गरेको नेपालले ४२ अर्ब ३ करोडको वस्तु निकासी गरेको छ। यस्तै, दोस्रो साझेदार चीनसँगको व्यापारघाटा १ खर्ब २४ अर्ब पुगेको छ। चीनबाट पाँच महिनामा १ खर्ब २५ अर्बको आयात गरेको नेपालले निर्यात भने बल्ल १ अर्ब रुपैयाँ कटाएको छ। चीनतर्फ १ अर्ब ३ करोडको वस्तु निकासी भएको छ।

अमेरिकासँगको व्यापारमा भने नेपालले पाँच महिनामा १ अर्ब ८१ करोड नाफा कमाएको छ। मंसिरसम्म ७ अर्ब ३० करोडको निकासी भएकोमा अमेरिकाबाट ५ अर्ब ४८ करोडको वस्तु आयात भएको छ।