युवालाई स्वदेशमै रोजगारी र सीपमूलक शिक्षा दिनुपर्ने नेपालका राष्ट्रपतिको भनाइ
2023-12-26 16:05:32cri
Share with:

 

नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ सङ्ख्यामा बिदेसीरहेका नेपालीहरूलाई रोक्न स्वदेशमै रोजगारी र सीपमूलक शिक्षा दिनुपर्ने बताउनुभएको छ। मङ्गलबार सरस्वती बहुमुखी क्याम्पसको ६५ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै  उहाँले यस्तो बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ।

राष्ट्रपति पौडेलले कुनैपनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकताअनुरूप निर्धारण हुनुपर्ने बताउनुभयो। उहाँले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता भएको बताउनुभयो। ‘‘कुनैपनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकताअनुरूप निर्धारण हुनुपर्दछ। बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्‍याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता हो।,’’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘यसका लागि सामूहिक प्रयत्नको जरुरी छ। जसको थालनी उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूबाट हुन आवश्यक छ।’’

राष्ट्रपति पौडेलले लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद यसको उपभोग गर्ने मानिसको अभाव हुनेगरी गाउँ रित्तो भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले गाउँ किन रित्तिँदै छ ? भन्नेबारेमा नीति निर्माण र शासन सत्तामा बस्नेहरूको चासो र चिन्ता हुनुपर्ने बताउनुभयो।

‘‘लोकतन्त्रपछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बाबजुद यसको उपभोग गर्ने मानिसको अभाव हुनेगरी सारा संरचना गाउँमा पुगिसक्यो, गाउँमा मोटर पुग्यो, बिजुली बल्यो, गाउँमा सञ्चार, स्वास्थ्य सुविधा, स्वास्थ्य चौकी, कलेजहरू सम्पूर्ण गाउँमा पुगे, तर सबै चिज पुगिसक्यो, गाउँ रित्तो पनि भइसक्यो।,’’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘‘त्यसलाई उपभोग गर्ने मानिसको अभाव भइसक्यो। आज गाउँ किन रित्तिँदै छ, नीति निर्माण र शासन सत्तामा बस्ने लगायत सबैको चिन्ता यसैमा केन्द्रित हुन जरुरी छ। शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ नेपाली युवाहरू ताँती लागेर बिदेसिने क्रम रोक्ने गरी रोजगारी र सीपमूलक शिक्षा दिन जरुरी छ।’’

राष्ट्रपति पौडेलले विश्व बजारमा प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रमका लागि सामूहिक प्रयत्नको जरुरी रहेको पनि बताउनुभयो।