नेपालमा पाँच महिनामा चार अर्बभन्दा बढीको चामल आयात
2023-12-26 16:12:18cri
Share with:

चालु आर्थिक वर्षको पाँच महिनामा नेपालमा चामल आयातमा कमी आएको छ। अधिकांश वस्तुको आयात घटिरहेका बेला चामलको आयातमा समेत गिरावट आएको हो। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको पाँच महिनामा (साउनमङ्सिर) चार अर्ब १९ करोड ४१ लाख रुपियाँ बराबरको चामल आयात भएको गोरखापत्र अनलाइनले लेखेको छ। 

गत वर्ष सो अवधिमा सात अर्ब २९ करोड ४० लाख रुपियाँ बराबरको चामल आयात भएको थियो। अघिल्लो वर्षको पाँच महिनाको तुलनामा चालु आवको पाँच महिनामा तीन अर्ब रुपियाँले चामल आयातमा कमी आएको तथ्याङ्कले देखाएको छ। बजारमा चामलको खपत कम हुँदा आयातमा गिरावट आएको हो। चालु आवको पाँच महिनामा (साउनमङ्सिर) १७ अर्ब ९३ करोड १९ लाख ७७ हजार रुपियाँ बराबरको चामल, मकै, धान, गहुँ, कोदो आदि आयात भएको छ। गत वर्ष सो अवधिमा २० अर्ब ३१ करोड १७ लाख रुपियाँ बराबरको खाद्यान्न आयात भएको थियो। गत वर्षको तुलनामा चालु आवको पाँच महिनामा समग्र खाद्यान्न आयातमा तीन अर्ब रुपियाँले कमी आएको तथ्याङ्कले देखाएको छ। पाँच महिनामा सबैभन्दा धेरै चार अर्ब ९५ करोड ८७ लाख ८८ हजार रुपियाँ बराबरको मकै आयात भएको छ। मकै पोल्ट्री फार्ममा दानाको प्रयोगका लागि आउने गरेको छ। यस्तै चार अर्ब ९० करोड ७२ लाख रुपियाँ बराबरको धान आयात भएको छ। चार अर्ब ३१ करोड ९७ लाख रुपियाँ बराबरको गहुँ आयात भएको छ। यस्तै ३४ करोड १६ लाख रुपियाँ बराबरको कोदो, ८९ लाख रुपियाँ बराबरको जुनेलो आयात भएको छ। स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठुलो परिणाममा खाद्यान्न आउने गरेकामा यस वर्ष भने आयातमा कमी आएको छ।

विभागका अनुसार आव २०७९/८० मा १५ अर्ब ९१ करोड २४ लाख १५ हजार रुपियाँ बराबरको चामल मात्र आयात भएको थियो। आव २०७८/७९ मा ३० अर्ब ५८ करोड २९ लाख ५८ हजार रुपियाँ बराबरको चामल आयात भएको थियो। गत आवमा सरकारले आयातमा प्रतिबन्ध लगाएका कारण पनि खाद्यान्न आयातमा कमी आएको थियो। यस्तै आव २०७९/८० मा देशभरि ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो। सरकारले आयातमा गरिएको कडाइ र भारत सरकारले गहुँ आयातमा लगाइएको प्रतिबन्धका कारण अघिल्लो वर्ष खाद्यान्न आयातमा कमी आएको छ। इन्डोनेसिया, भियतनाम, चीन, इटाली, भुटान, थाइल्यान्डलगायतका देशबाट धान, चामल आयात हुने गरेको छ।