नेपाललाई उत्तर दक्षिण जोड्ने कोरला सडकका ५ पुल सञ्चालनमा
2023-12-26 16:03:30cri
Share with:

नेपालको उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत राष्ट्रिय गौरवको (बेनीजोमसोमकोरला) सडकखण्डमा निर्माणाधीन पुलमध्ये पाँच पुल सञ्चालनमा आएका छन्। बेनीजोमसोम सडकखण्डअन्तर्गत मुस्ताङको छाक्ताङ खोला पुल र लोमान्थाङकोरला सडकखण्डअन्तर्गतका चार निर्माणाधीन पुल सञ्चालनमा आएको कालीगण्डकी करिडोर (बेनीजोमसोमकोरला) सडक आयोजनाले जनाएको अन्नपूर्णपोष्ट अनलाइनले लेखेको छ।

राष्ट्रिय गौरवको सडकअन्तर्गत मुस्ताङको छाक्ताङ खोला पक्की पुलको पछिल्लो भौतिक प्रगति ९५ प्रतिशत रहेको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिनुभयो। पुल निर्माणका लागि केही फिनिसिङका काम बाँकी रहेको भए पनि यातायात सञ्चालनका खुल्ला गरिएको सूचना अधिकारी चापागाईंले उल्लेख गर्नुभयो। पुल निर्माण अन्तिम चरणमा रहँदै गर्दा यातायातका साधन आवतजावत गर्न थालेपछि बर्खायाममा मुस्ताङ आउजाउ गर्ने सवारीसाधनलाई निकै सहज हुने आयोजनाका सूचना अधिकारी चापागाईंको भनाइ छ।

कोरला सडकअन्तर्गत निर्माणाधीन मुस्ताङको छाक्ताङ खोला पुलको लम्बाइ ८० मिटरको छ। दुई स्पानको पुलको ७ करोड ४२ लाख रुपैयाँ लागतमा कालिका गजुरमुखी जेभीले ठेक्का सम्झौता गरेको थियो। छाक्ताङ खोला पुल चालू आर्थिक वर्ष सबै काम सम्पन्न हुने आयोजनाका सूचना अधिकारी चापागाईंले बताउनुभयो।

यसैगरी जोमसोमकोरला सडकखण्डअन्तर्गत लोमान्थाङकोरला सडकमा पर्ने आयोजनाका चार पक्की पुल निर्माण पनि अन्तिम चरणमा छन्। पुल निर्माण अन्तिम चरणमा रहँदै गर्दा लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलामा निर्माणाधीन पुलहरू यातायात आउजाउ गर्ने मिल्ने गरी सञ्चालनमा आएको आयोजनाले जनाएको छ। 

यी चारवटै पुल २०७६ साल असार ३१ गते ठेक्का सम्झौता भएको थियो। सम्झौता अवधि २०८० साल असोज ३० गतेसम्म रहेको लोमान्थाङकोरला चार पुलको काम म्याद सकिएको दुई महिनापछि यातायात सञ्चालनका लागि योग्य भएको हो। चार वटै पुलको पछिल्लो भौतिक प्रगति ९५ प्रतिशतभन्दा माथि रहेको आयोजनाका सूचना अधिकारी चापागाईंले जानकारी दिनुभयो।

लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोला पुल निर्माणको जिम्मा मुक्तिनाथ अमित जेभीले लिएको थियो। भौगोलिक विकटताका बाबजुद निकै द्रुत गतिमा पुल निर्माण सुरु गरेको कम्पनीले सन्तोषजनक रूपमा भौतिक प्रगति गरेको आयोजनाको भनाइ छ। यातायात सञ्चालनमा आएको एक स्पान रहेको २० मिटर लामो लोमान्थाङ पुलको लागत ४ करोड ६८ लाख, २ स्पानको ५० मिटर लम्बाइको किम्लिङ खोला पुलको लागत ६ करोड ३० लाख, २ स्पानकै ५० मिटर लामो नाम्डोक खोला पुलको लागत ६ करोड ३७ लाख र २ स्पानको ८० मिटर लम्बाइको भर्मा खोला पुलको लागत ६ करोड ८५ लाख रुपैयाँ छ।

राष्ट्रिय गौरवको सडकअन्तर्गत उपल्लो मुस्ताङमा चार पुल एकैसाथ सञ्चालनमा आएपछि बर्खायामको मौसममा कोरलानाका प्रस्थानका लागि यातायातका साधनलाई निकै सहज हुने लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो।

राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत यसअघि पाँच पुल निर्माण सम्पन्न भइसकेको कालीगण्डकी करिडोर सडक आयोजनाले बताएको छ। निर्माणको अन्तिम चरणमा रहेका पाँच वटा सम्पन्न भएमा कोरला सडकमा १० पुल सम्पन्न हुनेछन्। यसअघि म्याग्दीको घट्टेखोला पुल, राहुघाट खोला पुल, मुस्ताङको लेते खोला पुल, पान्डा खोला पुल र स्याङ खोला पुल आयोजनालाई हस्तान्तरण भइसकेको छ।