चितवनको सौराहामा हात्ती महोत्सव सुरु
2023-12-27 16:04:07cri
Share with:

पर्यटकीय क्षेत्र चितवनको सौराहामा मंगलबारदेखि १७ औं हात्ती तथा पर्यटन महोत्सवसुरू भएको छ। मंगलबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गर्नु भएको महोत्सव पाँच दिनसम्म चल्ने कान्तिपुर अनलाइनले लेखेको छ।

शनिबार सकिने महोत्सवमा बुधबार हात्ती शृङ्गार प्रतियोगिता, बिहीबार राप्ती नदीमा डुंगा दौड प्रतियोगिता हुने छ। शुक्रबार हात्तीको वनभोज गर्ने कार्यक्रम तय गरिएको छ। बाघमारा मध्यवर्ती वनको चौरमा आयोजना हुँदै आएको महोत्सव यो पटक रत्ननगर नगरपालिका७ मैनाहाको चित्रसारी पुलनजिक चौरमा आयोजना गरिएको छ।
विदेशी पर्यटक कम हुने क्रिसमस र अंग्रेजी नयाँ वर्षको सिजनमा सौराहा आउने वातावरण बनाउने उद्देश्यले सन् २००४ मा हात्ती दौड कार्यत्रम सुरु भएको थियो। त्यसयता हात्ती सम्बन्धित अन्य गतिविधि पनि थपिँदै गएका हुन्। हात्ती दौड हात्तीको स्वभावभन्दा विपरीत कार्यक्रम भएको भन्दै पशु कल्याणका क्षेक्रमा त्रियाशील अधिकारकर्मीले प्रतिवाद गर्न थालेपछि गतिविधि परिमार्जन गरिँदै आएको हो।

कोरोनापछि लगातार तीन वर्ष रोकिएको यो कार्यक्रम यसपाली फेरि सुरु भएको हो। यो पटक महोत्सवमा हात्तीका लागि सहज हुने गतिविधि मात्रै समावेश गरेको आयोजकले जनाएको छ। क्षेत्रिय होटल संघ (हान) चितवन सौराहाले आयोजना गर्दै आएको महोत्सवको मुख्य सहआयोजकमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेष्टुरेण्ट एण्ड बार एसोसियसन चितवन छन्। यसपटक हात्तीका खेल इलाफेण्ट फास्ट वाक, छावाको फुटबल र हात्ती पोलो भने नहुने आयोजकले जानकारी दिएका छन्।

हात्ती शृङ्गार प्रतियोगितामा माहुतेले राम्रो स्याहार गरेर सफा र स्वस्थ राखेका हात्तीबाट विजेता घोषणा गर्ने क्षेत्रीय होटल संघ चितवन सौराहाका सचिव महेश खनालले बताउनुभयो। यसमा सात हात्ती सहभागी हुँदैछन्। हात्ती पिकनिकमा हात्तीलाई मनपर्ने खाना र फलफूल राखिने छ। ६० हात्ती लहरै उभिएर खाने छन्। ऊद्घाटन कार्यक्रममा ४० हात्तीको लस्कर सौराहा हुँदै कार्यत्रम स्थलसम्म आएको थियो।
चितवन राष्ट्रिय निकुञ्ज नेपालमा वन्यजन्तु अवलोकन गर्ने पर्यटकको पहिलो रोजाइ हुने गरेको छ। सौराहा हुँदै अधिकांश पर्यटक निकुञ्ज छिर्ने गर्छन्। त्यसैगरी हात्ती चढेर जंगल घुम्ने पर्यटक सौराहामा खचाखच हुन्छन्।

हान चितवन सौराहाका अध्यक्ष गंगा गिरी चितवनको पर्यटनको मुख्य आधार नै हात्ती भएको बताउनुहुन्छ। निकुञ्जमा गस्तीका लागि पनि हात्तीको प्रयोग हुन्छ। निकुञ्जको जंगलमा जंगली हात्तीका बथान पनि छन्। हात्तीको महत्व, विशेषता बुझाउन र पर्यटकलाई मनोरञ्जन दिन पनि यो कार्यक्रम हुँदै आएको हो,’ अध्यक्ष गिरीले भन्नुभयो। सन् २००४ मा पहिलो पटक भएको हात्ती दौडलाई २०१० पछि हात्ती महोत्सवमा रुपान्तरण गरिएको हो।