नेपाल र चीनको संयुक्त लगानीको हिमालय एयरलाइन्सद्वारा ल्हासा उडान शुरु
2023-12-28 15:32:53cri
Share with:

चिनियाँ र नेपालीको संयुक्त लगानीमा स्थापित हिमालय एअरलाइन्सले डिसेम्बर २८ तारिख बिहीबारदेखि काठमाडौँल्हासा उडान सुरु गरेको छ। प्रत्येक  बिहिबारका लागि तोकिएको उडान काठमाडौंबाट बिहान सवा ८ बजे छुट्नेछ। यसअघि हिमालयले चीनको राजधानी बेइजिङ, शाङ्हाई, छिङ्ताओ र छोङछिङमा उडान थालिसकेको जनआस्था अनलाइनले लेखेको छ।

ल्हासा उडानका निम्ति बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिन, विमान कम्पनीका अध्यक्ष चौ एन्योङ्ग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीको उपस्थिति थियो।

उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले नेपाल-चीन सम्बन्धमा काठमाडौँ-ल्हासा सिधा हवाई उडान दोस्रो सेतुका रुपमा स्थापित भएको बताउनुभयो। सन् १९६५ मा निर्माण सम्पन्न भएको अरनिको राजमार्गले उत्तरतर्फको ढोका खुल्यो र व्यापारको आकार पनि बढ्यो। त्यसैले, अरनिको राजमार्गलाई चीनसँगको सम्बन्धको पहिलो सेतु मानिन्छ। अब दोस्रो प्रमुख सेतु हुनेछ- नेपालबाट तिब्बतमा हुने सोझो हवाइ उडान,’ मन्त्री किराँतीले भन्नुभयो।

यो उडानले चिनियाँ पर्यटक नेपाल भित्राउन टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। तिब्बतको ल्हासामा प्रतिवर्ष लगभग १ करोड पर्यटकहरु घुम्न आउने र तीमध्ये ठूलो संख्या चिनियाँ बौद्ध धर्मावलम्बीहरुको हुने भन्दै मन्त्री किराँतीले त्यसको २५ प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपाल भित्राउन सकियो भने अर्थतन्त्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

काठमाडौंबाट चीनका अन्य एअरलाइन्सले छङ्तू, क्वाङ्चौ र खुनमिङमा उडान भर्दै आएका छन्। यीसहित काठमाडौँबाट चीनका आठ स्थानमा सोझो उडान हुँदै आएको छ।

उता, भारतका नयाँ दिल्ली, कलकत्ता, बैंगलोर, बनारस र मुम्बईमा पनि उडान हुने गरेको छ। तीमध्ये दिल्ली, मुम्बई र बैंगलोरमा नेपाल वायुसेवा निगमको पहुँच छ। बनारसमा भने आन्तरिक वायुसेवा बुध्द एअरले उडान थालेको छ। 

नवनिर्मित भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय र पोखरा विमानस्थलबाट उडान सुचारु हुन थालियो भने चाहिँ नेपाल दुई छिमेकीलगायत विश्वका विभिन्न मुलुकसँग सोझै जोडिने क्रम बढ्ने निश्चित छ।