नेपाली सांसदहरुको चीनमा १० दिने कार्यशाला सम्पन्न
2023-12-29 16:55:56cri
Share with:



नेपाली सांसदका लागि चीनको बेइजिङमा आयोजित १० दिने कार्यशाला बिहीबार समापन भएको छ। चीनको वाणिज्य मन्त्रालयअन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआईबीओ) को आयोजनामा भएको कार्यशालामा नेपालको संघीय संसद्‌का १७ सदस्य र संघीय संसद् सचिवालयका तीन कर्मचारी सहभागी भएका नेपाल खबर अनलाइनले लेखेको छ।

समापन समारोहमा एआईबीओका उपप्रमुख छन रुइचुनले नेपालका कानुन निर्माताहरुका लागि आयोजना गरिएको कार्यक्रम फलदायी भएको विश्वास व्यक्त गर्नुभयो। हामीले सुरुवात मात्र गरेका छौँ’, उहाँले भन्नुभयो, ‘अनुभव आदानप्रदानका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौँ।सयौँपटक सुन्नुभन्दा एकपटक हेर्नु राम्रो भन्ने चिनियाँ भनाइ उद्धृत गर्दै उहाँले विकास निर्माणमा चीनले प्राप्त गरेको सफलता अन्य मुलुकका लागि पनि अनुकरणीय हुन सक्ने बताउनुभयो। 

नेपाली प्रतिनिधि मण्डलका सदस्य एवं नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको नेतृत्वमा प्राप्त सफलताले चीन विश्वकै लागि अवलोकनस्थल भएको उल्लेख गर्नुभयो। उहाँले विगतमा भएका सहमति कार्यान्वयनमा जोड दिँदै नेपाल बीआरआईको हिस्सेदार हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो।

समापन कार्यक्रममा नेपाली कांग्रेसका सांसद रामनाथ अधिकारी, नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राप्रपाका सांसद अनिशा नेपाली, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी, जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारी तथा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले सम्बोधन गर्नु भएको थियो। उहाँहरुले दुई मुलुकबीच मौलिक विशेषतायुक्त सम्बन्ध रहेको चर्चा गर्दै कूटनीतिक, व्यापारिक सम्बन्ध, विकास सहयोग तथा अनुभव आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

पुस २ गते बेइजिङ आएको नेपाली संसदीय टोलीले चीनको च्याङ्सु र कुइयाङ प्रान्तको भ्रमण गरेको थियो। उहाँहरुले दुवै प्रान्तका प्रान्तीय राष्ट्रिय जनकंग्रेसका उच्च अधिकारीसँग भेट गरेका संघीय संसद् सचिवालयका सञ्चार विज्ञ शेखर अधिकारीले जानकारी दिनुभयो। आफ्नो भ्रमण पूरा गरी नेपाली संसदीय टोली शनिबार काठमाडौँ फर्किँदै छ।