बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक आकर्षित गर्न कार्यक्रम
2023-12-29 16:57:01cri
Share with:



बाघ संरक्षणका लागि स्थापना गरिएको नेपालकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जले स्वदेशी र विदेशी पर्यटकलाई बढीभन्दा बढी आकर्षित गर्न विभिन्न कार्यक्रम र योजना अघि सारेको छ। सो क्रममा पर्यटक आकर्षित गराउने उद्देश्यले जिल्लाका उद्योगी, व्यवसायी, पर्यटनकर्मी, प्रदेश सांसद, राजनीतिकर्मी, चिकित्सकलगायतको सहभागितामा जङ्गल सफारी गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताउनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। 

उहाँले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) बाँके च्याप्टरको आयोजना र बाँके राष्ट्रिय निकुञ्जको सहकार्यमा निकुञ्जको प्रचारप्रसारका लागि जङ्गल सफारी गरिएको बताउनुभयो। 

पर्यटन प्रवर्धनका लागि बेला बेलामा जिल्लाका सरोकारवालाको सहभागितामा सफारीलगायतका विभिन्न कार्यक्रम आयोजना गर्दै आएको जनाउँदै प्रमुख संरक्षण अधिकृत शाहले यसबाट पर्यटक तान्न मद्दत मिल्ने गरेको बताउनुभयो।  

बाघ अवलोकनका लागि सबैभन्दा उपयुक्त मानिएको बाँके निकुञ्जको राम्रो प्रचारप्रसार गर्न सकिए देशविदेशबाट ठुलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने हुँदा यो सफारी निकै महत्वपूर्ण रहेको नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो। उहाँले जङ्गल सफारीमा गएको टोलीले निकुञ्ज मुख्यालय ओभरीबाट भित्र जङ्गलमा प्रवेश गरी वनपथ हुँदै झुरीखोला भएर राजमार्गमा निस्केको बताउनुभयो।  

सो क्रममा बाघको आवाज नजिकैबाट सुनिनुका साथै चित्तललगायतका वन्यजन्तु हेर्नका लागि बनाइएको मचान, सौर्य ऊर्जाजडित पोखरी अवलोकन गरिएको सिग्देलले बताउनुभयो।  

पर्यटन प्रवर्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले यस्ता कार्यक्रमले आन्तरिक एवं बाह्य पर्यटकलाई निकुञ्जमा जङ्गल सफारी र पदयात्रा गर्नेतर्फ आकर्षित गर्ने बताउनुभयो। बाँके निकुञ्जमा २५ भन्दा बढी पाटेबाघ रहेका छन् भने तीन सय प्रजातिका चरा, ३४ प्रजातिका स्तनधारी जनावर र २४ प्रकारका घस्रिएर हिँड्ने जनावर रहेका छन्। निकुञ्जले बुच्चापुर र खड्गवारमा हात्तीसार स्थापना गरेर छ वटा घरपालुवा हात्तीबाट पर्यटकलाई निकुञ्जको जङ्गल क्षेत्र घुमाउने र दुर्लभ वन्यजन्तु पाटेबाघको अवलोकन गराउने गरेको छ।