पोखरा सडक महोत्सव सुरु
2023-12-29 16:58:50cri
Share with:

सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँमूल नाराका साथ बिहीबारदेखि २५ औँ पोखरा सडक महोत्सव सुरु भएको छ। फेवाताल किनार लेकसाइडमा पाँच दिनसम्म विविध कार्यक्रम गरी रजत महोत्सवका रूपमा मनाइने आयोजक संस्था रेवान पोखराले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ। 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गर्दै सडक महोत्सवले पोखराको पहिचानमा इँटा थपेको बताउनुभयो। उहाँले हाल स्थगित प्याराग्लाइडिङ तत्काल खुलाउन सम्बन्धित निकायलाई आग्रह पनि गर्नुभयो। पोखरालाई आगामी जनवरीभित्र पर्यटकीय राजधानीका रूपमा घोषणा गर्ने उहाँको उद्घोष थियो। 

रेवान पोखराका संस्थापक अध्यक्ष हरिप्रसाद गुरुङले पोखरामा सडक महोत्सवको अवधारणाबारे बोल्दै युरोपका विभिन्न गल्लीमा यस्तै खालका मेला र महोत्सव हुने गरेको बताउनुभयो। उहाँले त्यही अनुरूप महोत्सव अगाडि बढाएको स्मरण गर्नुभयो। कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले गुणस्तरीय पर्यटक भित्र्याउन आवश्यक रहेको बताउँदै महोत्सवले त्यसमा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो। 

रेवानका कावा अध्यक्ष सङ्घर्ष विष्टले पोखरामा प्याराग्लाइडिङ बन्द भएकामा चिन्ता व्यक्त गर्नुभयो। महोत्सव उद्घाटन अवसर नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति संस्कृतिविद् जगमान गुरुङ, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति साहित्यकार सरुभक्त, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, कार्टुनिस्ट दुर्गा बराल वात्स्यायन’, विम्ब कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, कलाकार अमृत गुरुङ, शिक्षासेवी जर्ज जोन, प्राडा कुसुमाकर न्यौपाने, भूगोलविद् प्राडा कृष्ण केसी, प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुली, पर्यटनविद् झलक थापा, पत्रकार कृष्णमणि बराललगायत सम्मानित हुनुभएको हो।

पुस १२ देखि १६ सम्म लेकसाइडको तीन किलोमिटर क्षेत्रफलमा हुने महोत्सवमा करिब पाँच लाख पर्यटक भित्र्याउने आयोजकको लक्ष्य छ।