एक वर्षअगावै योजना सम्पन्न
2023-12-31 15:41:25cri
Share with:

दुई वर्षको ठेक्का अवधि भएको बेनी–गलेश्वर सडक आयोजनाका ठेकेदारले एक वर्षमै निर्माण काम सम्पन्न गरेपछि ठेकेदारले प्रशंसा पाएका छन् । छिटो छरितो र राम्रो काम गरेको भन्दै स्थानीयले ठेकेदारलाई सम्मान गरेका हुन्। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८, कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्रे गर्ने आयोजना सम्झौता मितिभन्दा एक वर्षअघि निर्माण सम्पन्न भएको गोरखापत्र अनलाइनले लेखेको छ। 

छिटोछरितो तवरले काम गरेर एक वर्षमै योजना सम्पन्न गरेर वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकको यात्रा गर्ने बाध्यता हटाइदिएको भन्दै गलेश्वरका स्थानीयले निर्माण व्यवसायीलाई सम्मानसमेत गरेका छन् । स्थानीयले निर्माण व्यवसायी सुवास कार्कीलाई गलेश्वरस्थित आमा समूह, गलेश्वर क्षेत्र विकास कोष र टोल विकास संस्थाले सम्मानपत्रसहित फूलमाला र अबिर लगाएर सम्मान गरेका छन् ।  

आमासमूहकी अध्यक्ष फूलकुमारी रोकाले राम्रो र छिटो काम गरेका निर्माण व्यवसायीलाई प्रोत्साहनका लागि सम्मान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रै आँखाअगाडिका कतिपय योजना ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण वर्षौंदेखि अलपत्र परेका छन् । यो सडक योजना भने लक्ष्यभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भयो । यो सुखद पक्ष हो । त्यसैले व्यवसायीलाई हामीले सम्मान गरेका हौँ ।” पहिलो पटक समुदायबाट सम्मान पाउँदा उत्साहित भएको निर्माण व्यवसायी कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो कम्पनीले सम्झौता गरेका विकास योजना कतै पनि अलपत्र छैनन् । प्रायः जसो योजना लक्ष्यभन्दा अगावै सम्पन्न गरेका छौँ ।” निर्माण व्यवसायीको इच्छाशक्ति, पर्याप्त जनशक्ति र उपकरण परिचालन तथा सरोकारवालाले नियमनसँगै सहजीकरण गर्ने हो भने ढिलासुस्ती हटाउन सकिने सन्देश यस योजनाले दिएको छ । 

निर्माण व्यवसायीले पर्याप्त मात्रामा मजदुर र उपकरण परिचालन गरेर लक्ष्यभन्दा एक वर्षअगाडि योजनाको सम्पूर्ण काम सम्पन्न गरेको योजनाका इन्जिनियर अच्युतविलास पन्तले बताउनुभयो । दुई किलोमिटर सडक कालोपत्रे गर्न मङ्गलादेवी सुवास कन्स्ट्रक्सन प्रालिले भ्याट÷पिएससहित  १२ करोड ७५ लाख ९४ हजार ४३६ मा २०७९ पुस १७ गते ठेक्का सम्झौता गरेको थियो । आयोजना कार्यालय, स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीले योजना निर्माणमा पर्याप्त सहयोग तथा सहजीकरण गरेका कारण काम गर्न सहज भएको निर्माण व्यवसायी कार्कीले बताउनुभयो । 

सडक फराकिलो बनाउने, पर्खाल, नाली, चार वटा कल्भर्ट, सबबेस, बेस र दुई सय मिटर आरसिसी ढलानपछि कालोपत्रे गरिएको छ । यो सडक कालोपत्रे भएपछि बेनी नगरपालिकासहित रघुङ्गा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवतजावतमा सहज भएको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको यो सडक खण्डलाई समयमै सम्पन्न गर्न स्थानीयले नियमित अनुगमन, निरीक्षण र समन्वय गरिएको बताउनुभयो । लक्ष्यभन्दा अगावै निर्माण सम्पन्न गरेर निर्माण व्यवसायीले उदाहरण प्रस्तुत गरेको उहाँले बताउनुभयो ।