पर्यटन प्रवर्द्धन गर्न 'घुम्न जाऔं बन्दीपुर' अभियान
2024-01-01 16:50:44CRI
Share with:

'पहाडकी रानी' उपनामले परिचित बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि 'घुम्न जाऔँ बन्दीपुर' अभियान सुरु गरिएको छ । अभियान अन्तर्गत क्रियाशील पर्यटन व्यवसायी, होटल व्यवसायीको सहभागितामा देशका विभिन्न सहरमा पुगेर बन्दीपुरको पर्यटनको प्रचारप्रसार गरिएको हो ।

अभियानको क्रममा ठुला सहरका जनप्रतिनिधि उद्योगी व्यवसायीका सङ्घ संस्थासँग पहिलो चरणको अन्तरक्रिया सम्पन्न गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो। रुपन्देही, पाल्पा र स्याङ्जा पुगेर अन्तरक्रिया गरिएको हो। पर्यटकीय स्थलको संवर्द्धन र प्रवर्द्धन गरी गाउँपालिकालाई पर्यटनका माध्यमबाट समृद्ध बनाउने सोच राखिएको अभियान थालनी गरिएको अध्यक्ष थापाले बताउनुभयो। 

घुम्ने क्रममा पालिकाका जनप्रतिनिधी तथा पर्यटन व्यवसायीहरुलाई बन्दीपुरको पर्यटकीय स्थलको बारेमा जानकारी भएको क्युआर कोड भएको मायाको चिनो दिइएको छ। बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुरको प्रचारप्रसारका लागि यो अभियान फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, देशका प्रमुख सहरमा पुगेर बन्दीपुरको पर्यटकीय स्थलको बारेमा जानकारी प्रदान गरिने गाउँपालिकाले जनाएको छ। बन्दीपुरमा आन्तरिक पर्यटकलाई निम्तो बाँड्ने अभियानमा काठमाडौं, पोखरा, चितवन, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, विराटनगर लगायतका मुख्य सहरमा प्रचारप्रसार र अन्तरक्रिया गरिने गाउँपालिकाले जनाएको छ ।

बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकका आकर्षणका केन्द्रबिन्दु हुन् ।