अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी मोडलमा चलाउँदै सरकार, सन् २०२३ मा यात्रुको संख्या १ करोड २० लाख
2024-01-01 16:43:29CRI
Share with:

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रियसहित नेपालका तीन वटै अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलबाट सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ।

नेपालमा पहिलो पटक वायुयान अवतरण भएको ७५औं वर्ष तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको रजत जयन्तीका अवसरमा आइतबार सिनामंगलस्थित प्राधिकरणमा आयोजित कार्यक्रममा उनले सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी मोडलमा सञ्चालन गर्ने निर्णय गरेको जनाउनुभयो। यस विषयमा प्रधानमन्त्री पनि सहमत भइसकेको र आफ्नो मन्त्रालयले चाँडै पीपीपी मोडलबाट विमानस्थल सञ्चालन गर्नेबारे अध्ययन समिति बनाउने उहाँको भनाइ छ।

सरकारले निजगढमा पनि पहिलो चरणमा दुई र त्यसपछि दोस्रो चरणमा दुई गरी चार वटा धावनमार्ग भएको विमानस्थल निर्माण गरी त्यसलाई पनि पीपीपी मोडलमा सञ्चालन गर्ने उहाँले बताउनुभयो। कर्मचारीतन्त्रबाट विमानस्थल सञ्चालन गर्दा अत्यधिक चुनौती देखिएपछि सरकारले विदेशी कम्पनीको संलग्नतामा विमानस्थललाई पीपीपी मोडलमा सञ्चालन गर्ने निर्णय लिएको कान्तिपुर अनलाइनले लेखेको छ। 

नेपालमा हाल ३० वटा वायुसेवाले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । ती वायुसेवाले भैरहवा, काठमाडौं र पोखरालाई १६ मुलुकका ३३ गन्तव्यसँग जोड्दै आएका छन् । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीद्वारा रजत जयन्तीमा सार्वजनिक तथ्यांकअनुसार सन् २०२३ मा हालसम्मकै सबैभन्दा धेरै यात्रु संख्या आवागमन भएको छ । नोभेम्बर २०२३ सम्म नेपालका तीन वटै अन्तर्राष्ट्रिय विमानस्थलमा ४१ लाख ५४ हजार ३ सय ९३ जना यात्रुको आवागमन भएको थियो । यो अघिल्लो वर्षको ११ महिनाको दाँजोमा ४१ प्रतिशतले बढी हो । आन्तरिकतर्फ पनि झन्डै ३८ प्रतिशतले यात्रु आवागमन वृद्धि भएको जनाइएको छ । गत वर्ष नोभेम्बर २०२२ सम्म ११ महिनामा देशभर ५६ लाख ६८ हजार हवाई यात्रुले यात्रा गरेका थिए । यस वर्षको ११ महिनामा यो संख्या ७७ लाख ९४ हजार पुगेको छ ।  

आन्तरिक र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा यात्रुको संख्या सन् २०२३ मा कम्तीमा १ करोड २० लाख पुग्ने प्राधिकरणका अधिकारीहरूको अनुमान छ । नेपालमा आन्तरिकतर्फ १९ वायुसेवाले देशभरका ३५ वटा विमानस्थलमा सेवा दिँदै आएको प्राधिकरणले जारी गरेको वार्षिक प्रतिवेदन पुस्तकमा उल्लेख छ ।