गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म ३६ हजार यात्रु आवतजावत
2024-01-02 16:27:59CRI
Share with:

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडानमार्फत १९ महिनामा ३६ हजार १०६ यात्रु आवतजावत गरेका छन् । २०७९ जेठ २ गतेबाट २०८० पुस १४ गतेसम्म १९ महिना १२ दिनमा कुल ४३० अन्तर्राष्ट्रिय उडान हुँदा ३६ हजार बढी यात्रुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी आगमन एवं प्रस्थान गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालय भैरहवाका महाप्रबन्धक हंशराज पाण्डेले बताउनुभयो 

नेपालमा नागरिक उड्डयन प्राधिकरण स्थापना भएको २५ वर्ष पुगेको अवसरमा भैरहवामा आयोजित वार्षिकोत्सव कार्यक्रममा महाप्रबन्धक पाण्डेले तथ्यांक सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय उडानमार्फत आवतजावत गरेका ३६ हजार १०६ यात्रुमध्ये आगमनतर्फ १५ हजार ५२६ जना र प्रस्थानतर्फ २० हजार १५५ जना यात्रुले यो विमानस्थल प्रयोग गरी आवतजावत गरेको बताउनुभयो। ‘जजिरा एयरवेजले कुवेत–भैरहवा–कुवेत सेक्टरमा कुल २५२ नियमित उडान/अवतरण गरी ३० हजार ३३८ यात्रु आवतजावत गरेको तथा हिमालयन एयरलाइन्सको भैरहवा–क्वालालम्पुर–भैरहवा सेक्टरमा ६८ चार्टर्ड उडान गरी चार हजार ४९९ यात्रु आवागमन गरेका छन्,’ पाण्डेले भन्नुभयो। 

तीबाहेक अन्य विभिन्न देशका ४९ निजी/चार्टर्ड उड़ान अवतरण भएको र गत जेठ ३० गतेदेखि नेपाल वायुसेवा निगमले मलेसिया- भैरहवा- काठमाडौं सेक्टरमा मंगलबार एक दिन नियमित उडान गर्दै आएको छ र ती उडानमार्फत अहिलेसम्म एक हजार १३६ यात्रु मलेसियाबाट आएको महाप्रबन्धक पाण्डेले जनाउनुभयो। विमानस्थल सञ्चालनमा आएको १९ महिनामा पनि पूर्ण क्षमतामा सञ्चालन नहुँदा यस क्षेत्रमा विमानस्थल हेरेर लगानी भएको पर्यटन क्षेत्रको अर्बौ लगानी डुब्ने खतरा बढेपछि निजी क्षेत्रले नियमित रूपमा दबाबमूलक कार्यक्रम गर्दै आएका कारोबारअनलाइनले लेखेको छ।