चीनले नाकाहरु खुला गर्दै जाँदा चिनियाँ पर्यटकहरु नेपालमा पनि बढ्दै, यो वर्ष नेपालमा पर्यटक आगमन उत्साहजनक
2024-01-02 16:10:25CRI
Share with:

नेपालले एक वर्षको अवधिमा १० लाख १५ हजार पर्यटकलाई स्वागत गर्न सफल भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरी २०२३ देखि डिसेम्बर २०२३ को एक वर्षको अवधिमा १० लाख १४ हजार ८७६ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन्। यस वर्ष भारतीय र अमेरिकी पर्यटकको आगमन उत्साहजनक देखिएको छ। यो आगमन सन् २०२२ को तुलनामा ४ लाख ७२८ जना बढी हो। सन् २०२२ मा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए। 

चीनले नाकाहरु खुला गर्दै जाँदा चिनियाँ पर्यटकहरु समेत बढ्न थालेको र यसले समग्र पर्यटक आगमनमा उत्साहजनक वृद्धि देखिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो। यस वर्ष अमेरिकी र बंगलादेशी पर्यटकको आगमन हौसलाजनक रह्यो,’ उहाँले भन्नुभयो, ‘भारतीय पर्यटकको आगमनले समेत उत्साह थपिएको हो ।’

वर्षको अन्तिमतिर चीनले सबै नाकाहरु खोल्दै जाँदा सन् २०२४ मा भारतीय र चिनियाँ पर्यटकबीच आगमनमै प्रतिस्पर्धा हुने अपेक्षा व्यवसायीहरुले गरेका छन्।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२३ मा भारतबाट मात्र ३ लाख १९ हजार ९३६ जना पर्यटक नेपाल आएका छन्। सन् २०१९ मा २ लाख ५४ हजार १५० जना भारतीय पर्यटक नोपल आएका थिए। नेपालले हवाईमार्गबाट आउने भारतीय नागरिकलाई मात्र पर्यटक गणना गर्दै आएको छ। सन् २०२३ मा अमेरिकाबाट १ लाख ३५७ जना पर्यटक नेपाल आएका छन्। यस वर्ष चीनबाट ६० हजार ८७८ जना मात्र पर्यटक आएका छन्। सन् २०१९ मा चिनियाँ पर्यटकको आगमन १ लाख ६९ हजार ५४३ रहेको थियो।

अनलाइनखबरका अनुसार नेपालको पर्यटन इतिहासमा १० लाख माथि पर्यटक आगमन भएको यो तेस्रो वर्ष हो। यसअघि सन् २०१८ र सन् २०१९ मा १० लाख माथि पर्यटक भित्रिएका थिए। सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए। सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए। सन् २०१७ मा ९ लाख ४० हजार २१८ जना पर्यटक नेपाल आएका थिए। 

सरकारले सन् २०११ मा भ्रमण वर्ष मनाउने क्रममा वार्षिक १० लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । सन् २०२० मा अर्को भ्रमण वर्ष मनाउँदा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको भएपनि सो वर्षबाट सुरु भएको कोरोना महामारीले लगातार तीन वर्ष पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बन्न पुग्यो। यस वर्ष भने सन् २०१९ को तुलनामा ९५.७६ प्रतिशतले आगमन भएको देखिएको बोर्डको तथ्यांकमा उल्लेख छ । 

यसैबीच सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सन् २०२३ मा १० लाख पर्यटक आगमन पुर्‍याउने घोषणा गरेको थियो । सो लक्ष्य पूरा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकारको यस वर्षको लक्ष्य पूरा भएको भन्दै यसले आगामी वर्षका लागि सकारात्मक सन्देश दिएको बताउनुभयो। आइतबार नेपाल पर्यटन बोर्डको वार्षिकोत्सवका अवसरमा सरकारी लक्ष्य पूरा भएकोमा बधाइ दिँदै उनले सरकारले रैथाने पर्यटनमा जोड दिएको जानकारी दिनुभयो।

पछिल्लो समय चीनले नेपालसँगका सबै नाका खुला गरेको छ । साथै स्थलमार्गबाट समेत पर्यटक आगमन सुरु भएको छ । यसप्रति व्यवसायी सकारात्मक छन् । अघिल्लो साता हिमालय एयरलाइन्सले काठमाडौं–ल्हासा सिधा उडान सुरु गरेको छ । यससँगै चीनले कोरोना महामारीपछि बन्द गरेका सबै हवाई तथा स्थल नाकाहरु सुचारु भएका छन् । भारतीय पर्यटकको बढ्दो आगमन र चिनीयाँ नागरिक थपिँदा सन् २०२४ अझ उत्साहजनक रहने अपेक्षा व्यवसायीको छ ।