पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको एक वर्ष
2024-01-02 16:29:19CRI
Share with:

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । गत वर्ष १ जनावरी २०२२ (१७ पुस, २०७९)मा औपचारिक उद्घाटन भएको यो विमानस्थल सञ्चालनमा आएको सोमबार एक वर्ष पूरा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्माण गरेर सञ्चालन सुरु गरेको यो विमानस्थलमा राज्यको करीब २२ अर्ब रुपैयाँ लगानी भएको छ।

चिनियाँ ऋण सहयोगमा बनेको यो विमानस्थल सञ्चालन भएको एक वर्षसम्म औपचारिक रूपमा व्यवसायीक उडान सञ्चालन हुन सकेको छैन । यो विमानस्थलबाट नगन्य मात्रामा चार्टर उडान भए पनि अझै नियमित उडानको लागि कुनै वायुसेवाले प्रस्तावसम्म गरेका छैनन।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरेको एक वर्षसम्म कुनै वायुसेवालाई ल्याउन नसक्नु र नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने दुई वायुसेवाबाट समेत एउटा पनि परीक्षण उडानसम्म हुन नसक्नुलाई राज्यसंयन्त्रको कमजारी मानिएको छ। यो विमानस्थलबाट पछिल्लो एक वर्षमा ८ लाख ८८ हजार आन्तरिक यात्रु उडेका छन् । यो उडान आन्तरिक उडानको मात्रै भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जशोदा सुवेदीले बताउनुभयो।

यो विमानस्थलबाट अन्तर्राष्ट्रिय चार्टर उडान जम्मा ७ वटा मात्रै भएको छ । यस्तो उडानबाट जम्मा २९६ यात्रु मात्रै आवतजावत गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । यो विमानस्थलबाट चाइनाबाट ६ वटा र एउटा उडान भुटानको ड्रुकले गरेको छ। कुटनीतिक पहल गर्न नसकेको र विमानस्थलमा २२ अर्ब रुपैयाँ भौतिक पूर्वाधारमा मात्रै खन्याएको विमानस्थल राज्यबाटै बेवास्तामा परिरहेको हो। यो विमानस्थलमा हाल अन्तर्राष्ट्रिय उडानका लागि कर्मचारी तयारी अवस्थामा छन्। हाल काठमाडौं केन्द्रित वायुसेवाका उडान धेरै रहेको क्लिकमाण्डु अनलाइनले जनाएको छ।