पर्यटक आगमनको लक्ष्य भेटिएसँगै विदेशी दूतावासहरुलाई नेपालको पर्यटन मन्त्रालयद्वारा धन्यवाद
2024-01-03 15:54:53CRI
Share with:

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालस्थित विदेशी दूतावासहरुमा धन्यवाद पत्र पठाएको छ। पर्यटनमन्त्री सुदन किरातीले नेपालस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रमुखलाई शुभकामना दिँदै पत्र लेख्नुभएको अनलाइखबरले समाचार लेखेको छ। 

मन्त्रालयका प्रवक्ता हेमराज तामाङका अनुसार पत्रमा नेपालमा पर्यटक भित्राएर नेपाल सरकारको लक्ष्य पुरा गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्रालयले विदेशी राजदूत र दूतावासलाई धन्यवाद ज्ञापन गरेको हो। नेपालको आर्थिक समृद्धिको सपनालाई पर्यटन मार्फत साकर पार्नका साथै दुई देशविचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउन दुतावासले खेलेको भूमिका प्रशंसनीय रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको पत्रमा उल्लेख छ। 

मन्त्रालयले नेपालमा पर्यटकको संख्या बढ्नुमा नेपालस्थित विदेशी कूटनीतिक नियोगको महत्वपूर्ण योगदान र भूमिका रहेको समेत बताएको छ। नेपाल सरकारले सन २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य राखेको थियो। सन २०२३ मा १० लाख १४ हजार ८ सय ७१ पर्यटक नेपाल आएका छन्। 

मन्त्री किरातीले नेपाल भ्रमण दशक २०२३–२०३२ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या वार्षिक ३५ लाख पुर्याउने लक्ष्य रहेको भन्दै आफ्ना नागरिकलाई नेपाल भ्रमणमा प्रोत्साहन गर्न समेत आग्रह गरेका छन् ।