पोखरामा १० देशका आधुनिक कृषि यन्त्र र उपकरणबारे सिक्न र जान्न पाइने
2024-01-03 16:07:00CRI
Share with:

गण्डकी प्रदेशमै पहिलो पटक कृषि यान्त्रीकरण प्रदर्शनी हुने भएको छ । पुस २० देखि २२ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा यान्त्रीकरण प्रदर्शनी हुन लागेको हो । नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगिकरकरण, आधुनिकीकरण तथा व्यावसायीकरण गर्न सहयोग गर्ने उद्देश्यले पोखरामा नेपाल कृषि मेसिनरी व्यवसायी संघ र विभिन्न सरकारी कार्यालयको आयोजनामा प्रदर्शनी हुन लागेको संघका अध्यक्ष कृष्ण शर्माले जानकारी दिनुभयो। 

प्रदर्शनीसँग आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, विउविजन, आधुनिक सिँचाइलगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका कम्पनीहरुको सहभागिता हुने अनलाइनखबरले जनाएको छ। 

यसअघि अन्य प्रदेशमा ६ ठाउँमा भइरहेको प्रदर्शनी गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो पटक हुन लागेको हो । विभिन्न १० देशका आधुनिक कृषि यन्त्र तथा उपकरण प्रदर्शनीमा राखिने छ ।

प्रदेश सरकारले पनि यान्त्रिकरणमा जोड दिइरहेको र पहिलेका आधुनिक मेसिन पनि प्रयोगविहीन भइरहेको तर अब पनि त्यसको विकल्प नभएको यस क्षेत्रका कृषि विकास निर्देशनालय गण्डकीका प्रमुख वासुदेव रेग्मीले बताउनुभो। प्रदर्शनीमा एउटै थलोमा आधुनिक प्रविधि, कृषि औजार, उपकरण तथा यन्त्रहरु र त्यसका सेवाबारे किसानलाई जानकारी गराइने छ । प्रदर्शनीमा किसानलाई विभिन्न प्रविधि, यन्त्र र उपकरणको प्रयोगबारे सिकाइनेसमेत आयोजकले जानकारी दिएको छ । अहिले नेपालको तराइ क्षेत्रमा ८० प्रतिशतको हाराहारीमा यान्त्रिक प्रविधि र उपकरणमार्फत कृषि तथा पशुपालन भइरहेको भए पनि पहाडी क्षेत्रमा भने जम्मा १० प्रतिशतको हाराहारीमा मात्र छ ।