पर्यटकीय नगरी चितवनको सौराहामा चिनियाँ पर्यटक बढेपछि व्यवसायीहरू उत्साहित
2024-01-04 15:59:16CRI
Share with:

प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक चितवनस्थित सौराहामा घुम्न आउने चिनियाँ पर्यटकको संख्यामा वृद्धि भएको छ। बाह्य पर्यटकले सौराहाका होटल भरिभराउ भएपछि यहाँका व्यवसायी उत्साहित भएका छन् । सौराहास्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष गङ्गा गिरीले अङ्ग्रेजी नयाँ वर्षसँगै चिनियाँ र भारतीय पर्यटकको सङ्ख्या बढेको बताउनुभयो। ‘यो अवस्था रहिरह्यो भने चिनियाँ पर्यटकको सङ्ख्या पुरानै लयमा फर्कन्छ’, उहाँले भन्नुभयो, ‘सौराहाका ९० प्रतिशतभन्दा बढी होटल बुकिङ छन् । भारतमा सार्वजनिक बिदा भएका कारण पनि घुम्न आउने भारतीय नागरिक बढेका हुन् ।’

चीन र भारतसँगै तेस्रो मुलुकबाट पनि सौराहा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२३ मा तीन लाख पर्यटक सौराहा भित्रिएकामा सन् २०२४ मा तीन लाख ५० हजार पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष गिरीको भनाइ थियो ।

सौराहामा पर्यटक बढाउन प्रचारप्रसार अभियान लिएर देश-विदेश जाने योजना रहेको बताउँदै उनले ‘घुमौँ सौराहा अभियान’ लिएर चीन र भारतका विभिन्न ठाउँ र पश्चिम नेपाल जाने योजना रहेको जानकारी दिनुभयो। नेपालको सडक पूर्वाधार राम्रो नहुँदा पर्यटकको सङ्ख्या बढ्न नसकेको र हवाई यातायात पनि महँगो भएको अध्यक्ष गिरीको गुनासो थियो।

सौराहाका रेष्टुराँमा विभिन्न खानाको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको रेवानका अध्यक्ष नरेश गिरीले बताउनुभयो। सौराहामा मात्र साना–ठूला गरी एक सय ४१ होटल छन् भने पश्चिम चितवनको जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन् । दैनिक छ हजार चार सय २६ पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ।

अनलाइनखबरका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन्।