तीन वर्षपछि नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक
2024-01-04 16:02:38CRI
Share with:

नेपाल र भारतको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक बिहीबार काठमाडौँमा बस्दैछ। अनलाइनखबरका अनुसार तीन वर्षपछि बस्ने संयुक्त आयोगको बैठकमा उर्जा सहकार्य, व्यापार, कनेक्टिभिटी र सीमा समस्यालगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयको भनाइ छ। परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. एस जयशंकर बिहीबार काठमाडौँ आइपुग्नुभएको छ।

अन्नपूर्णपोस्ट अनलाइनका अनुसार भारतीय विदेश मन्त्री एस. जयशंकरले सन् २०२४ को पहिलो भ्रमण नेपालबाट गर्नुभएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै विदेशमन्त्री जयशंकरले आफूले नयाँ वर्षको पहिलो भ्रमण नेपालमा गर्न पाउँदा हर्षित भएको बताउनुभयो।

विदेशमन्त्री जयशंकरले उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि थाल्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाटपछि दिउँसो होटल याक एण्ड यतिमा आयोजना हुने नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी भएर नेपाली समकक्षी एन पी साउदसँग सहअध्यक्षता गर्नुभएको छ।

बैठकपश्चात नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुनेछ। त्यसपश्चात विदेशमन्त्री जयशंकरले कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटघाट गर्ने कार्यतालिका रहेको छ। 

आयोगको बैठकमा ऊर्जा सहकार्य, सीमा समस्या, प्रबुद्ध व्यक्ति समूह (ईपिजी) को प्रतिवेदन, सन् १९५० को सन्धि पुनरावलोकनलगायत विषयमा छलफल हुनेछ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार बैठकमा सुस्ता र कालापानीबाहेक दुई देशको सीमांकन गर्न नौ वर्षअघि गठित नापी विभागका महानिर्देशकस्तरीय बाउन्ड्री वर्किङ ग्रुप (बिडब्लुजी) का विषयमा पनि छलफल हुनेछ । बिडब्लुजीको बैठक चार वर्षदेखि बस्न सकेको छैन । 

सन् २००७ मा अन्तरदेशीय संयन्त्रको आवश्यकता महसुस गरी नेपाल–भारत बिडब्लुजी गठन भएको थियो। उक्त संयन्त्रलाई स्ट्रिप नक्साअनुसार बाँकी रहेको सीमास्तम्भ बनाउने, बिग्रे भत्केका सीमास्तम्भ मर्मत सम्हार गर्ने, हराएका सीमास्तम्भ पुनःस्थापना गर्ने, स्ट्रिप नक्शाअनुसार सबै सीमास्तम्भ रुजु गर्नुका साथै ती सीमास्तम्भको निर्माण, पुनर्स्थापना एवं मर्मत सम्भार गर्नेलगायतका जिम्मेवारी तोकिएको थियो । तर सन् ०२२ मा बिडब्लुजीको अवधि सकिँदासम्म पनि यस विषयमा छलफल भएको छैन ।

भारतीय विदेशमन्त्री जयशंकर नेपालमा रहँदा तीनवटा प्रसारण लाइनको उद्घाटन र विद्युत व्यापार सम्झौतामा हस्ताक्षर हुने भएको छ। १३२ केभीएका तीनवटा प्रसारण लाईनको दुवै देशका परराष्ट्र मन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने र तीनवटा प्रसारण लाइनमा भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन, कुशाहा–कटैया प्रसारण लाइन र भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइनको उद्घाटन हुने भएको छ। यस्तै दुवै देशका परराष्ट्रमन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत व्यापार समझौतामा हस्ताक्षर हुने भएको छ। जयशंकर नेपाल आउनुपूर्व नेपाल र भारतबीच मध्यकालीन र दीर्घकालीन ऊर्जा समझौताको गृहकार्य गर्न भारतको ऊर्जा मन्त्रालयको टोली यसअघि नै काठमाडौं आइसकेको छ।

आयोगको बैठक तीन वर्षपछि बस्न लागेको हो । नेपालले बैठक गर्न भारतलाई निरन्तर आग्रह गर्दै आए पनि बस्न सकेको थिएन। पछिल्लो पटक आयोगको छैटौं बैठक ०७७ को माघ १ र २ मा नयाँदिल्लीमा भएको थियो । चौथो बैठक ०७३ कात्तिकमा नयाँदिल्लीमा, तेस्रो बैठक ०७१ असारमा काठमाडौंमा र दोस्रो बैठक ०४८ मंसिरमा नयाँ दिल्लीमा बसेको थियो । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पहिलो बैठक सन् २०४७ को फागुनमा बसेको थियो ।