लमजुङमा ‘हाइ अल्टिच्युड’को प्याराग्लाइडिङ विद्यालय स्थापना
2024-01-04 16:12:07CRI
Share with:

लमजुङमा ‘हाइ अल्टिच्युड' को प्याराग्लाइडिङ विद्यालय सञ्चालनमा आएको छ । लमजुङको दोर्दी गाउँपालिका–८ थोँतीमा बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले उक्त विद्यालय सञ्चालनमा ल्याएको हो। तीन हजार नौ सय मिटर उचाइमा रहेको उक्त विद्यालयमा उच्च हिमाली भेगमा कसरी प्याराग्लाइडिङमा उड्ने र उडान गर्नेबारे सीप सिकाइने कम्पनीका सञ्चालक सानोबाबु सुनुवारले जानकारी दिनुभयो। 

नागरिक उड्डयन प्राधिकरणको स्वीकृति र स्थानीय तहसँगको सहकार्यमा विद्यालय सञ्चालन गरिएको उहाँको भनाइ छ । प्याराग्लाइडिङ विद्यालय सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि दोर्दी गाउँपालिकाले समेत सहयोग गरेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो। गाउँपालिकामा रहेको भेडीगोठ सहितका अन्य पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि पनि प्याराग्लाइडिङ विद्यालय महत्वपूर्ण हुने उहाँको भनाइ छ । 

पालिकामा प्याराग्लाइडिङ विद्यालय स्थानीयका लागि समेत नयाँ अवसर भएको अध्यक्ष अधिकारीले बताउनुभयो। बाबु एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीले नौ वर्षदेखि स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्ग्लाइडिङ विद्यालय सञ्चालन गर्दै आएको छ । प्याराग्लाइडिङ विद्यालयसँग सहकार्य र सहयोगका लागि विभिन्न कम्पनीले चासो देखाएका छन् । हालैमात्र रेडबुलको ‘एड्भेन्चर’ टोली नेपाल आएर विद्यालयको अवलोकन गरेको थियो। त्यसपश्चात उनीहरुले विद्यालयसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको सञ्चालक सुनुवारले बताउनुभयो।

नेपालमा हिमाल आरोहणका लागि मात्रै नभई विदेशी पर्यटक ‘हाइ अल्टिच्युड’ प्याराग्लाइडिङका लागि आउने नेपाल हवाई खेलकुद संस्था (ना) का निवर्तमान अध्यक्ष कृष्ण भट्टराईले बताउनुभयो। अनलाइनखबर।