अबको एक वर्षपछि काठमाडौ जोड्ने नागढुंगा सुरुङबाट गाडी चलाउने योजना
2024-01-05 16:08:39CRI
Share with:

निर्माण थालेको ५० महिनामा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रगति ६७.६१ प्रतिशत छ । सुरु सम्झौताअनुसार यसको समयावधि ०८० वैशाखमा सकिएको हो । उक्त समयभित्र काम नसकिएपछि तीन महिना म्याद थप गर्दै ०८० साउन ४ सम्म पुर्‍याइएको थियो । यस अवधिमा पनि काममा प्रगति नदेखिएपछि दोस्रो पटक ०८१ वैशाख १३ सम्म म्याद थपिएको छ ।

आयोजना सुरु भएयता १४ अर्ब ६ करोड २ लाख रुपैयाँ खर्च भइसकेको छ । अहिले दुई सिफ्टमा काम भएकाले प्रगति राम्रै रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

धादिङ र काठमाडौं दुवैतिर धमाधम काम भइरहेको कान्तिपुर अनलाइनले जनाएको छ । कुनै समस्या आइनपरे अबको दुई महिनाभित्र मुख्य सुरुङको ‘ब्रेक थ्रु’ हुने आयोजनाका उपआयोजना निर्देशक गोविन्द डुमरुको भनाइ छ । ‘बेलाबेला आइपर्ने समस्याले केही ढिला भएको हो, समस्या आइनपरेको भए काममा धेरै प्रगति हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘अहिले निरन्तर काम भइरहेको छ । यही रफ्तारमा काम भए दुई महिनाभित्र मुख्य सुरुङ खन्ने काम सकिन्छ ।’

मुख्य सुरुङ अब ९५ मिटर मात्र खन्न बाँकी छ । समग्र सुरुङ खन्ने काम १.८ प्रतिशत मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।

‘दिनमा ३ देखि ६ मिटरका दरले खन्ने काम भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘धादिङतर्फ मुआब्जाको केही समस्या भएकाले समाधानको प्रयास भइरहेको छ ।’ तर पहिलाजस्तो मुआब्जाको समस्या अहिले धेरै नरहेको उहाँले सुनाउनुभयो। अहिले निर्माणमा प्रतिदिन करिब ५ सय कामदार परिचालित छन् । 

मुख्य सुरुङको कुल दूरी २६८८ मिटरमध्ये २५९३ मिटर खनिसकिएको छ । गत साउन २२ मा आपत्कालीन उद्धार सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । २५५७ मिटर दूरी रहेको आपत्कालीन सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै अहिले फिनिसिङको काम भइरहेको छ । मुख्य सुरुङ खन्ने काम सकिए पनि यातायात सञ्चालनमा आउन भने समय लाग्नेछ । सुरुङ खनेको एक वर्षभित्र फिनिसिङको काम सकेर उक्त खण्डमा यातायात सञ्चालनमा ल्याइने जनाइएको छ । नेपालको पहिलो यातायात सुरुङ भएकाले निर्माणका क्रममा कुनै समस्या नआए ०८१ पुसमा यातायात चल्ने गरी काम गरिरहेको आयोजनाको दाबी छ । 

काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेंसी नगरपालिकास्थित सिस्नेखोलामा सुरुङ निर्माणको काम अन्तिम चरणमा छ । त्यसका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । यसअनुसार ३ वटा अन्डर पास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभर पास र ३ वटा पुल निर्माण भइसकेका छन् । यो सुरुङ सञ्चालनमा आएपछि नागढुंगा उकालोमा हुने ट्राफिक जाम कम हुनेछ । यात्रुले ट्राफिक जामको सास्ती खेप्नुपर्ने छैन ।

सुरुङ बनेपछि साढे ७ किलोमिटर सडक छोटिने आयोजनाको भनाइ छ । सुरुङबाट मोटरसाइकल, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र ग्यास बुलेट भने आवतजावत गर्न पाउने छैनन् । अन्य आयोजनाको तुलनामा यसको निर्माणमा प्रगति राम्रो रहेको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालको भनाइ छ ।

०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो । सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले लिएको हो । निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । ठेक्का भने साढे २२ अर्ब रुपैयाँको हो । यसमा ६ अर्ब रुपैयाँ नेपाल सरकारको छ ।