आठ वर्षपछि नेपालले आठौँ यू–१९ विश्वकप खेल्दै
2024-01-06 16:34:16CRI
Share with:

यू–१९ विश्वकप खेल्ने युवा टोली त्यसतर्फ प्रस्थान गरेको छ। दक्षिण अफ्रिकामा माघ पहिलो साता सुरु हुने विश्वकप नेपालले आठ वर्षपछि खेल्न लागेको हो। यसअघि श्रीलंकामा विश्वकप हुने भनिए पनि श्रीलंका क्रिकेट बोर्ड आईसीसीको प्रतिबन्धमा परेपछि विश्वकप दक्षिण अफ्रिकामा सारिएको हो।

विश्वकपअघि नेपालले दक्षिण अफ्रिकामा नै एक साता अभ्यास गर्नेछ। सो क्रममा नेपालले नामिबिया र स्कटल्यान्डसँग जनवरी ९ र ११ मा दुई अभ्यास खेल खेल्ने नेपालखबर अनलाइनमा खबर छ। 

यस्तै आईसीसीले व्यवस्थापन गरेको दुई अभ्यास खेलमा स्कटल्यान्डसँग जनवरी १३ र वेस्ट इन्डिजसँग जनवरी १६ मा खेल्ने तालिका छ। विश्वकपका लागि उत्साहसँगै नेपाली टोलीबीच थुप्रै चुनौती पनि छ। विश्वकपअघि एसिया कपमा खराब प्रर्दशन गरेको नेपाली टोली आफ्नो प्रदर्शनलाई लिएर विश्वस्त हुने अवस्था छैन। तर एसिया कपको प्रर्दशनलाई बिर्सेर आफूहरु विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीका कप्तान देव खनालले बताउनुभयो। उहाँले भन्नुभयो, ‘तयारी सबै राम्रो भएको छ, प्रशिक्षणका बीचमा पीएम कप परेकाले मैदानमा अभ्यास गर्न नपाए पनि नेटमा अभ्यास गर्यौँ। मूलपानी मैदानमा पनि अभ्यास गरेका छौँ।’ 

कप्तान खनालले व्यक्तिगत रुपमा पनि विश्वकप खेल्ने सपना पूरा हुन लागेकाले राम्रो नतिजाका लागि खेल्ने बताउनुभयो। नेपालले ८ वर्षपछि यू–१९ विश्वकप खेल्न लागेको हो। 

नेपालले यसअघि सात पटक यो विश्वकप खेलेको थियो। पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा विश्वकप खेलेको थियो। 

त्यसअघि नेपालले सन् २००० मा श्रीलंकामा भएको विश्वकपमा पहिलो पटक सहभागिता जनाएको थियो।

नेपालले सन् २००२ मा न्युजिल्यान्ड, २००४ मा बंगलादेश, सन् २००६ मा श्रीलंका, २००८ मा मलेसिया र सन् २०१२ मा अस्ट्रेलियामा विश्वकप खेलेको थियो।

यो बीचमा नेपालले सन् २००२ देखि २००८ सम्म लगातार पाँच पटक विश्वकप खेलेको थियो। 

नेपाल क्रिकेट संघ (क्यान) ले दक्षिण अफ्रिका जाने नेपाली टोलीलाई बिदाइ गरेको छ। क्यान अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीलाई सुरक्षामा ध्यान दिन आग्रह गर्नुभयो। दक्षिण अफ्रिका अपराध दर उच्च रहेको मुलुक मानिन्छ। 

मुख्य प्रशिक्षक जगत टमाटाले एसिया कप खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गर्दा एक खेलाडी थप गरेका छन्।  

एसिया कप खेलेको टोलीबाट चोटका कारण बाहिरिएका तीव्र गतिका बलर हेमन्त धामीको स्थानमा तीव्र बलर दुर्गेश गुप्तालाई राखिएको छ। टोलीमा अलराउन्डर दीपक बोहोरा थपिएको जनाइएको छ।   

आठ वर्षपछि विश्वकप खेल्न जान लाग्दा मुख्य प्रशिक्षक टमाटाले आफूलाई भाग्यमानी मान्दै यसमा क्यान र खेलाडीको योगदानलाई सम्झिनुभयो। आफूहरु विश्वकपका लागि शारीरिक र मानसिक रुपमा टोली फिट रहेको भन्दै उहाँले थप्नुभयो, ‘विश्वकपअघि नै चार खेल खेल्दैछौँ र त्यसले पनि हामीलाई सहयोग गर्छ। यसअघि टेस्ट राष्ट्रलाई हराएकाले फेरि राम्रो प्रर्दशन गर्नेछौँ।’ 

विश्वकप माघ ५ देखि २७ गतेसम्म हुनेछ। 

नेपाल रहेको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्। समूह चरणको पहिलो खेलमा नेपालले माघ ७ गते न्युजिल्यान्डसँग खेल्नेछ। दोस्रो खेलमा माघ १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेलमा १२ गते अफगानिस्तानसँग खेल्ने तालिका छ। 

हरेक समूहका शीर्ष तीन टोली सुपर ६ मा पुग्नेछन्। समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह सी मा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्। 

समूह ए र डी का टोलीले सुपर सिक्स खेल्नेछन्। समूह बी र सी का सुपर सिक्समा हुनेछन्। हरेका समूहका पुछारका टोलीले १२ देखि १६ औँ स्थानका लागि प्लेअफ खेल्नेछन्। हरेक सुपर सिक्सका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन्। 

नेपाली यु १९ टोलीमा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र आकाश चन्द छन्।