चीन र भारतसँग नेपालले प्रतिस्पर्धा गर्नसक्ने बजार पर्यटनः माओवादी नेता वर्षमान पुन
2024-01-06 16:22:54CRI
Share with:

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले नेपालले चीन र भारतसँग पर्यटनको क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने बताउनुभएको छ। बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको नागरिकन्यूज डटकमले जनाएको हो।

नेपालमा चीन पहिलो, भारत दोस्रो र तेस्रोमा अमेरिकाबाट बढी पर्यटकहरु आइरहेको उल्लेख गर्दै उहाँले चीन र भारतसँग नेपालले पर्यटनको क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने बताउनुभयो। उहाँले भारतबाट वार्षिक ५ करोड र चीनबाट वार्षिक १० करोड पर्यटकहरु बाहिरिने गरेको भन्दै ती पर्यटकहरु नेपालले तान्न सक्नुपर्ने बताउनुभयो। नेपालले चीन र भारतसँग प्रतिस्पर्र्धा गर्नसक्ने बजार पर्यटन मात्रै भएको उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, ‘हाम्रा खास भारत र चीन छन्। चीन एक नम्बर र दुई भारतबाट पर्यटकहरु बढी आउने गर्दछन्। त्यस्तै तेस्रोमा अमेरिकाबाट पर्यटकहरु आइरहेका छन्। भारतबाट २०२३ को जुलाईमा एउटा महिनामा मात्रै २२ लाख ३२ हजार पर्यटकहरु बाहिर गए। त्यसले सामान्यतया वार्षिक ५ करोड पर्यटक बाहिर जान्छन्। त्यस्तै चिनियाँहरु २०१९ मा १५ करोड ४६ लाख र २०२३ को ६ महिनामा ४ करोड बाहिर गएका छन्। यो वर्ष १० करोड पर्यटक चीनबाट बाहिरिएका छन्। यो असाध्यै ठूलो अवसर हो। हामीले प्रतिस्पर्धा गर्नसक्ने बजार भनेको यही हो। किनभने हामीले ठूला ठूला उत्पादन गरेर चिनियाँ बजारमा वा भारतीय बजारमा प्रतिष्पर्धा गर्न सक्दैनौँ। तर प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र यो हो। त्यही सम्भावनाअनुसार नै पर्यटकहरु पनि आइरहेका छन्। भारतीय पर्यटक बाहिर केका लागि जान्छन्। उनीहरु विवाहका लागि युएई जाँदा रहेछन्। हामीले अहिले हेर्दा विवाहका सिजनमा बोर्डरका होटल प्याक हुन्छन्, यो सम्भावना देखिन्छ। बोर्डरका क्षेत्रमा क्यासिनो वा मिनिक्यासिनो असाध्यै चल्छ।’