नेपालको सुदूरपश्चिममा जलपन्छी गणना सुरु
2024-01-07 16:01:21CRI
Share with:

कञ्चनपुरमा शनिबारदेखि जलपन्छी गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण सङ्घ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएसनलगायत सङ्घसंस्थाले जलपन्छी गणना थालेका हुन्। 

जलपन्छी गणना शनिबारदेखि माघ ७ गतेसम्म जारी रहने नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताउनुभयो। उहाँका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत र निकुञ्ज बाहिरका जलाधार क्षेत्रमा जलपन्छी गणना हुनेछ। 

निकुञ्ज बाहिरका क्षेत्रमा डिभिजन वन कार्यालयसँग समन्वय गरी जलपन्छी गणना हुने चराविज्ञ डगौराले बताउनुभयो। जलपन्छी गणनामा 'वाइनाकुलर टेलिस्कोप' र 'जिपिएस'सहितको क्यामेराको प्रयोग गरिने छ । 'हिँडेर पुग्न सकिने ठाउँमा स्थलगत रुपमै गणना हुन्छ’, उहाँले भन्नुभयो 'स्थलगत रुपमा हिँडेर पुग्न नसकिने ठाउँमा डुङ्गा र हात्तीमा चढेर जलपन्छी गणना गर्छौं ।'

सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको विवरण तथा अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न हरेक वर्षको यसै दिनदेखि जलपन्छी गणना हुँदै आएको छ। गणनाका क्रममा तालतलैयामा जलपन्छीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सीमसारको अवस्थाबारे अध्ययन हुनेछ । कञ्चनपुरसँगै कैलाली र बर्दियाका सीमसार क्षेत्र तथा तालतलैया, नदी तथा जलाधार क्षेत्रमा जलपन्छी गणनको कार्य हुने डगौराले जानकारी दिनुभयो। राससका अनुसार कञ्चनपुरका सिमसार तथा जलाधार क्षेत्रमा प्रत्येक वर्षको हिउँदमा ५५ देखि ६० बढी प्रजातिका चरा बसाइँ सरेर साइबेरियालगायत उत्तरी ध्रुवबाट बसाइँ सरेर आउने गरेका छन्।