चितवनको सोमेश्वर क्षेत्रमा भेटिए १४ बाघ
2024-01-10 17:47:27cri
Share with:

भारत बिहार राज्यको वाल्मिकी टाइगर रिजर्भसँग जोडिएको चितवनको दक्षिण क्षेत्र सोमेश्वर जैविक मार्गमा १४ वटा बाघ भेटिएका छन्। यो संख्या अघिल्लो अनुमगनहरूमा भन्दा बढी हो। सोमेश्वर जैविक मार्ग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ। यो क्षेत्रमा सन् २०१८ को अनुगमनमा तीन वटा र सन् २०२२ को राष्ट्रिय बाघ सर्वेक्षणका बेलामा ८ वटा बाघ भेटिएको चितवन निकुञ्जले जनाएको कान्तिपुर अनलाइनले लेखेको छ।

निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार यो पटक असोज २५ गतेदेखि क्यामेरा राखेर बाघ अनुगमन सुरु भएको थियो। सोमेश्वर क्षेत्रलाई ६२ वटा ग्रिडमा विभाजित गरी ६२ जोडी क्यामेरा २/२ वर्ग किलोमिटरको फरकमा जडान गरेर राखेको तिवारीले जानकारी दिनुभयो। सेन्सर जडित तस् क्यामेरा अगाडिबाट केही ओहोरदोहोर गरे स्वचालित रूपमा आफै तस्बिर खिचिन्थ्यो।

लगभग ४० दिनसम्म सोमेश्वरमा राखेका क्यामेरा निकालेर त्यसमा खिचिएका तस्बिर विश्लेषण गर्दा सोमेश्वर क्षेत्रमा कम्तीमा आठ पोथी र ६ भाले गरी १४ वटा पाटे बाघ रहेको पुष्टि भएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो। निकुञ्ज कार्यालयको अथक प्रयास र स्थानीयको सरसहयोगले पाँच वर्षभित्र सोमेश्वर क्षेत्रमा बाघको संख्या उल्लेख्य मात्रामा बढेको तिवारीले बताउनुभयो।