पहिलो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ३.२ प्रतिशत
2024-01-13 17:09:00cri
Share with:

वित्तीय र खानी तथा उत्खनन क्षेत्र चलायमान हुँदा चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो त्रैमासिक(साउन–असोज) मा नेपालको अर्थतन्त्रले ३.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको छ। अर्थतन्त्र सङ्कटमा रहेको चर्चाबिच राष्ट्रिय तथ्याङ्क कार्यालयले केही ढिलो गरी सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो। गत आवको सोही अवधिसँगको तुलनामा क्षेत्रगत उत्पादनको वृद्धिदरको विवरणलाई अर्थतन्त्र मापनको आधार बनाइएको कार्यालयले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ। 

कार्यालयका अनुसार क्षेत्रगत विवरणले अघिल्लो आवको पहिलो त्रैमासिक अवधिबाट पछिल्लो त्रैमासिक अवधिमा कुन क्षेत्रको कुल मूल्य अभिवृद्धिमा के कति प्रतिशतले घटबढ भयो भनेर देखाउने छ। कार्यालयले क्षेत्रगत विवरण सार्वजनिक गर्दा मौसमी प्रभावको समायोजनसहित र मौसमी प्रभाव समायोजन नगरी दुई तरिकाबाट प्रस्तुत गरेको छ। 

मौसमी प्रभाव समायोजन नगरिएको तथ्याङ्क अनुसार गत आवको सोही अवधिको तुलनामा कुल १८ वटा क्षेत्रगत आर्थिक क्रियाकलापमध्ये व्यापार क्षेत्रबाहेक बाँकी सबै क्षेत्रको गतिविधि बढेको देखिन्छ। कार्यालयका अनुसार उक्त अवधिमा सबैभन्दा धेरै खानी तथा उत्खनन क्षेत्रको १५.८ प्रतिशतले कुल मूल्य अभिवृद्धि हुने अनुमान छ। 

निर्माण क्षेत्रसँग प्रत्यक्ष आधारित हुने बालुवा, गिट्टी तथा ढुङ्गाको उत्खननको कुल मूल्य अभिवृद्धि तुलनात्मक रूपमा थोरै भएको निर्माण क्षेत्रको ११.४ प्रतिशतको वृद्धिले यस क्षेत्रको उत्पादनमा बढी प्रभाव परेको देखिन्छ, कार्यालयले उल्लेख गरेको छ। खानी तथा उत्खननपछि दोस्रोमा वित्तीय तथा बिमा क्षेत्रको मूल्य अभिवृद्धि १३.२ प्रतिशतले बढ्ने अनुमान छ। निक्षेप तथा कर्जामा भएको वृद्धि, अन्तर बैङ्क ब्याजदरमा भएको परिवर्तन, बढ्दो बिमा प्रिमियम आदि कारणले यस क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव परेको कार्यालयले जनाएको छ। 

समीक्षा अवधिमा तुलनात्मक रूपमा बढी गतिविधि भएको तेस्रो स्थानमा आवास तथा भोजन सेवा रहेको छ जसको मूल्य अभिवृद्धि ११.७ प्रतिशत हुने कार्यालयको प्रारम्भिक अनुमान छ। पर्यटकको आगमनमा भएको वृद्धिदरले यस क्षेत्रको वृद्धिमा टेवा पुगेको जनाइएको छ। त्यसपछि प्रशासनिक सहयोगी क्रियाकलापको ८.८ प्रतिशत, सार्वजनिक प्रशासनको ६.५ प्रतिशत, पेसागत क्रियाकलापको ५.१ प्रतिशत, सूचना तथा सञ्चार अनि पानी आपूर्तिको समान ३.१ प्रतिशत वृद्धिदर हुने अनुमान छ। 

 यस अवधिमा अर्थतन्त्रमा सबैभन्दा बढी योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.४ प्रतिशत हुने अनुमान गरिएको छ। खासगरी धानको उत्पादनमा भएको वृद्धिले यसको वृद्धिमा सकारात्मक प्रभाव पारेको कार्यालयले उल्लेख गरेको छ। थोक तथा खुद्रा व्यापार क्षेत्रको गतिविधि भने घटेको पाइएको छ। समग्र आयातमा सामान्य वृद्धि भए पनि व्यापारजन्य वस्तुहरूमा आएको कमीले यस क्षेत्रको वृद्धिदरमा कमी आएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार समीक्षा अवधिमा यस क्षेत्रको १.२ प्रतिशतले नकारात्मक वृद्धिदर हुने अनुमान छ। 

यसै हप्ता मात्रै विश्व बैङ्कले सार्वजनिक गरेको एक प्रतिवेदनले चालु आर्थिक वर्षमा नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान सार्वजनिक गरेको थियो। अर्थ मन्त्रालयले पनि बारम्बार अर्थतन्त्रका धेरै सूचकमा सुधार आएकाले अर्थतन्त्रले गति लिने दोहोर्‍याइरहेको छ। 

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार मुलुकको बाह्य क्षेत्र ऐतिहासिक रूपमै सुदृढ अवस्थामा छ तर निजी क्षेत्रका प्रतिनिधिले भने मुलुकमा लगानीको वातावरण बनिनसकेकाले तत्काल लगानी गरिहाल्ने सोचमा नरहेको बताएका छन्।