अध्ययन र भ्रमणमा नेपालबाट बिदेसियो एक खर्ब तेइस अर्ब
2024-01-14 17:40:54cri
Share with:

अध्ययन र भ्रमणका लागि पाँच महिना नेपालबाट एक खर्ब २३ अर्ब रुपियाँ बिदेसिएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा सो बराबरको रकम बाहिरिएको गोरखापत्र अनलाइनले लेखेको छ। 

अध्ययन र भ्रमणकै लागि अघिल्लो वर्षको सोही अवधिमा ८४ अर्ब रुपियाँ बाहिरिएको थियो। यस हिसाबले गत वर्षको तुलनामा यस वर्षको पाँच महिनामा अध्ययन र भ्रमणका लागि मात्र थप ३९ अर्ब रुपियाँ बाहिरिएको छ। 

श्रम तथा अध्ययनका लागि बिदेसिनेको सङ्ख्या बढ्दा यसबापत बाहिरिने रकम पनि बढ्न थालेको तथ्याङ्कले पुष्टि गर्छ। साउनदेखि मङ्सिरसम्म भ्रमणबापत नेपालबाट ७५ अर्ब ७३ करोड रुपियाँ बाहिरिएको छ। गत वर्ष सोही अवधिमा भ्रमणबापत ४७ अर्ब ४८ करोड रुपियाँ बाहिरिएको थियो। 

यस वर्ष समीक्षा अवधिमा ४७ अर्ब ३४ करोड रुपियाँ अध्ययनका लागि बाहिरिएको छ भने गत वर्ष सोही अवधिमा २८ अर्ब ८० करोड रुपियाँ बाहिरिएकोे राष्ट्र बैङ्कले जनाएको छ। अध्ययन र भ्रमणका लागि नेपालबाट पछिल्लो पाँच महिनामा बाहिरिएको कुल रकम नेपालले वस्तु निर्यातबाट गरेको कुल आम्दानीको तुलनामा दोब्बरभन्दा बढी हो। 

यस अवधिमा नेपालले ६२ अर्ब रुपियाँको मात्र निर्यात गरेको थियो। त्यस्तै विदेशीले नेपालमा भ्रमणबापत गर्ने खर्चको तुलनामा भ्रमणबापत बाहिरिने रकम दोब्बरभन्दा बढी रहेको देखिन्छ। पाँच महिनामा नेपालले भ्रमणबापत ३३ अर्ब ९४ करोड रुपियाँ आम्दानी गरेको छ जुन् भ्रमणबापत बाहिरिने रकमको तुलनामा करिब ४२ अर्ब रुपियाँले कम हो।