१०२ मेगावाटको मध्य भोटेकोशीको परीक्षण सुरु
2024-01-14 17:41:32cri
Share with:

चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रबन्धक रहेको सिन्धुपाल्चोकमा निर्माणधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको बाँध र सुरुङमा पानी पठाएर ‘वेट टेष्टिङ’ सुरु गरिएको छ। मध्य भोटेकोशी जलविद्युत् आयोजना प्रमुख सूर्यनाथ भूर्तेलका अनुसार शुक्रबार पहिलो पटक बाँधमा पानी पठाएर टेष्टिङ गरिएको हो। उहाँका अनुसार आयोजनाको बाँध, इन्टेक, गेट, सिस्याण्डर, स्टपलग, सुरुङगायतका हेडवर्क्सका संरचनाको प्रविधिक परीक्षण गरिने कान्तिपुर अनलाइनले लेखेको छ।

परीक्षण अवधि कम्तीमा आगामी १५ गतेसम्म रहनेछ। आयोजनाको बाँधस्थल चाकुदेखि भोटेकोशीको पानी घटबढ भइरहने भएकाले तटीय क्षेत्रका स्थानीयवासीको नाममा सार्वजनिक सूचनासमेत जारी गरिएको छ। भूर्तेलका अनुसार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि परीक्षण उत्पादन सुरु हुनु अघि वेट टेष्टिङ गरेर आयोजनाको सबै संरचनाले तोकिएको काम गरे/नगरेको यकिन गर्न लागिएको हो।

भोटकोकोशी गाउँपालिका–५ चाकु बजारमा निर्मित बाँधमा पानी पठाइएको छ। हरेक दिन पानीको मात्रा बढाएर ७ किमि सुरुङबाट बाह्रबिसे नगरपालिकाको जम्बुमा निर्मित विद्युत् गृहमा पानी पठाइनेछ। चीनको तिब्बतबाट हिमनदीको रुपमा बहने भोटेकाशी तातोपानी नाका भएर नेपाल प्रवेश गरेको छ। भोटकोशीमा निर्माण भएको यो दोस्रो ठूलो आयोजना हो।

आयोजनाको कन्सल्ट्याण्टसहित प्राविधिक टोलीले अहिले पानी पठाएपछि बाँधमा जडित संरचनाले काम गरे/नगरेको परीक्षण गरिरहेको छ। मध्य भोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटीका अनुसार परीक्षण पूरा गर्न कम्तिमा तीन साता लाग्नेछ।

माघ १५–२० गतेसम्म परीक्षण उत्पादनको अवस्थामा पुग्ने आयोजनाको लक्ष्य छ। सुरुङको लम्बाइ धेरै भएकाले पानी पठाएपछि परीक्षणको समय बढी लाग्ने आयोजनाले जानकारी दिएको छ।

२०६८ साल कात्तिकमा विद्युत् खरिद सम्झौता (पीपीए) गरेको उक्त कम्पनीले सन् २०१३ मा आयोजनाको निर्माण सुरु गरेर २०१७ मा पूरा गर्ने लक्ष्य राखेको थियो। तर आन्तरिक र बाह्यसमस्याका कारण दशक पछि मात्र आयोजना विद्युत उत्पादनको अवस्थामा पुगेको हो।

आयोजनाको आन्तरिक प्रशासनिक अव्यवस्था, स्थानीय राजनीतिक द्वन्द्व, बाढीपहिरो, भूकम्प, कोरोना लगायतका समस्याले निर्माणमा ढिलाइ भएको हो। निर्माणमा ढिलाइ भएपछि यसको लागत बढेको छ। २०६८ मा कुल लागत १२ अर्ब २८ करोड रुपैयाँ रहेकोमा अहिले १९ देखि २० अर्ब पुग्ने अनुमान रहेको छ।

आयोजनाको लागानीकर्ता चिलिमे विदु्युत् कम्पनी, विद्युत् प्राविधकरण, कर्मचारी सञ्चय कोष, स्थानीय निजी कम्पनी तथा प्रभावित वासिन्दा रहेका छन्।