विश्वका घुम्नै पर्ने एक नम्बरमा काठमाडौं, नेपाली पर्यटन व्यवसायी उत्साहित
2024-01-15 16:01:47cri
Share with:

विश्व पर्यटकका लागि घुम्नै पर्ने गन्तव्यको पहिलो स्थानमा परेको छ– काठमाडौं। ट्रिप एडभाइजरले ‘उत्कृष्ट प्राकृतिक गन्तव्य’ को पहिलो नम्बरमा हालै काठमाडौंलाई घोषणा गरेको हो। ट्रिप एडभाइजर विश्वको सबैभन्दा ठूलो ट्राभल गाइडेन्स प्लेटफर्म हो। जहाँ १ अर्बभन्दा बढी समीक्षक र ८० लाखभन्दा बढी व्यवसायीहरूको सुझाव संकलन हुन्छ। ट्रिप एड्भाइजरको साइट प्रयोग गरी विश्वका पर्यटकले कहाँ जाने, कहाँ बस्ने, के गर्ने, कहाँ खाने भनेर पत्ता लगाउने गर्छन्। यसले विश्वका पर्यटकलाई घुम्न जान मार्गदर्शनको काम पनि गर्छ।

 

एडभाइजरले सन् २०२४ का लागि सात वर्गमा उत्कृष्ट गन्तव्य घोषणा गरेको छ। जसमा खाना गन्तव्य, उत्कृष्ट गन्तव्य, प्राकृतिक गन्तव्य, ट्रेन्डिङ गन्तव्य, संस्कृतिक गन्तव्य, हनिमुन गन्तव्य र दिगो गन्तव्य छन्। उत्कृष्ट गन्तव्यमा पनि नेपाल २४ नम्बरमा परेको छ। न्युयोर्क टाइम्सको २०२४ मा घुम्नै पर्ने सूचीमा नेपालको मुस्ताङ पनि परेको छ। अन्तर्राष्ट्रिय जगतबाट नै सन् २०२४ मा घुम्नै पर्ने सूचीमा नेपालका गन्तव्य सूचीकृत हुनु पर्यटन क्षेत्रका लागि सुखद र महत्वपूर्ण भएको सरोकारवालाहरूको भनाइ छ। विश्वमा यात्रा सहजीकरणका लागि अब्बल मानिएको ‘ट्राभल गाइडेन्स प्लेटफर्म ट्रिप एडभाइजर’ ले घुम्नै पर्ने प्राकृतिक गन्तव्यमा पहिलो नम्बरमा काठमाडौंलाई राखेको हो। प्राकृतिक गन्तव्य मनपराउने पर्यटकहरूका लागि काठमाडौं उत्कृष्ट गन्तव्य हुने एडभाइजरको सुझाव छ। कोभिड महामारीपछि नेपालको पर्यटन क्षेत्र सुधारिँदै गएको अवस्थामा उत्कृष्ट गन्तव्यमा पर्नु सुखद भएको नेपाल पर्यटन बोर्डका निर्देशक एवं प्रवक्ता मणिराज लामिछाने बताउनुहुन्टछ। विश्वमा लाखौंले हेर्ने र सुझाव लिने गरेको यस एडभाइजरको उत्कृष्ट गन्तव्यमा पर्दा विश्वमा नेपालको प्रचार भएको उहाँले बताउनुभयो। ट्रिप एडभाइजरले सन् २०२४ का लागि अन्तर्राष्ट्रिय जगतबाट परिचय पाउनु र सूचीकृत हुनु सकारात्मक भएको पर्यटन व्यवसायीहरूले बताएका छन्।

मुलुकमा धेरैभन्दा धेरै पर्यटक आउन इच्छुक भइरहेका बेला एडभाइजरको घोषणाले थप टेवा दिने होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाहको भनाइ छ। विश्वमा नेपाल प्राकृतिक गन्तव्यकै रूपमा चिनिने भएकाले यसले केही मद्दत अवश्य नै गर्ने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स(नाटा)का अध्यक्ष रमेश थापा बताउनुहुन्छ।

 

अन्नपूर्णपोस्टका अनुसार सन् २०२३ मा नेपालमा आउने पर्यटकको संख्या १० लाख नाघेको छ। सरकारले बजेटमार्फत सन् २०२३ मा १० लाख पर्यटक भिœयाउने लक्ष्य लिएको थियो। सन् २०२४ मा अहिलेको दोब्बर पर्यटक नेपाल भिœयाउने सरकारले उद्घोष गरेको छ। सन् २०२४ को सरकारी लक्ष्य हासिल गर्न यस्ता अन्तर्राष्ट्रिय प्रचार–प्रसारले मद्दत मिल्ने बोर्डका निर्देशक लामिछाने बताउनुहुन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा चलिरहेकाले थप पर्यटक भिœयाउन गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन पहल गर्नुपर्ने शाहको भनाइ छ। 

 

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूसँगै नेपाली वायुसेवा कम्पनीहरूले पनि जहाज तथा उडान संख्या बढाउनुपर्नेमा जोड दिन्छ। नेपाली वायुसेवा कम्पनीहरूले पनि नयाँ–नयाँ क्षेत्रमा उडान विस्तार गर्न सके पर्यटक आवागमनमा भूमिका खेल्ने प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलको भनाइ छ।

सरकारले बजेटबाट नै घोषणा गरेको पर्यटन दशक सन् २०२३–२०३२ तयारीको चरणमा छ। देशैभरि बहुपक्षीय पूर्वाधारको विकास गर्ने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै सन् २०२४ सम्ममा पर्यटन आगमनलाई २०१९ को पूर्ववत् अवस्थामा पुर्‍याउने, तत्पश्चात् पर्यटन आगमन प्रतिवर्ष १५ प्रतिशतको वृद्धि गरी सन् २०३२ सम्ममा संख्या ३५ लाख पुर्‍याउने र आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ। साथै प्रतिपर्यटक प्रतिदिन खर्च ४८ डलरबाट १२५ पुर्‍याउनुका साथै देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई १० प्रतिशत पुर्‍याउने लक्ष्य छ।