चीनको युनान प्रान्तको मिडियाका प्रतिनिधि मण्डलद्वारा गोरखापत्र संस्थानको सद्भावना भ्रमण
2024-01-16 16:55:19cri
Share with:

चीनको युनान प्रान्तको मिडियाका प्रतिनिधि मण्डलले गोरखापत्र संस्थानको सद्भावना भ्रमण गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी युनान प्रान्तीय समितिको प्रचार विभागका उपनिर्देशक तथा सोही प्रान्तको सभ्यता कार्यालयका अध्यक्ष पेङ बिनको नेतृत्वमा आएको १० सदस्यीय प्रतिनिधि मण्डलले संस्थानको भ्रमण गरेको गोरखापत्र अनलाइनमा खबर छ।

 

प्रतिनिधि मण्डललाई संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीले स्वागत गर्नुभयो। अध्यक्ष सुवेदीले गोरखापत्र एउटा अखबार मात्र नभएर देशको इतिहासको पनि प्रतिनिधित्व गर्दछ भन्दै यो नेपालको पत्रकारिताको ऐतिहासिक संस्था भएको बताउनुभयो ।

 

यसले राष्ट्रको सामाजिक सुधार र सांस्कृतिक प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै अध्यक्ष सुवेदीले यो संस्था नेपालको हरेक राजनीतिक परिवर्तन र आन्दोलनको सक्रिय साक्षीको रूपमा रहँदै आएको छ भन्नुभयो ।

 

अध्यक्ष सुवेदीले भन्नुभयो, ‘‘चीन हाम्रो नजिकको छिमेकी हो । हाम्रो राष्ट्रिय विकासका विभिन्न क्षेत्रमा चीनबाट निरन्तर प्राप्त सहयोगले ठुलो योगदान गरेको छ, हामीले यसको सदैव प्रशंसा गर्छौँ । हाम्रो सिह्वालगायत चिनियाँ सञ्चार संस्थासँग राम्रो सम्बन्ध र सौहार्दपूर्ण संवाद हुँदै आएको छ । हामी यो सम्बन्ध र संवादलाई अझ बलियो बनाउन चाहन्छौँ ।’’

 

 

यसैगरी, महाप्रबन्धक लालबहादुर ऐरीले नेपाल र चीनको सम्बन्ध प्रगाढ रहेको र चीनले गरेको विकास प्रयासबाट नेपालले पनि लाभ लिन सक्छ भन्नुभयो । उहाँले राज्यस्तरबाट उच्चस्तरमा भएका भ्रमणले दुवै देशको हित प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुगेको र युनान प्रान्तको मिडिया प्रतिनिधि मण्डलको भ्रमणबाट सञ्चार क्षेत्रमा सहयोग आदान प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

यस्तै, गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराईले गोरखापत्र दैनिकले नेपाली भाषाका अतिरिक्त ४१ राष्ट्र भाषामा समाचार सामग्री प्रकाशन गरेर राष्ट्रिय एकतालाई सुदृढ बनाउन लागिपरेको बताउनुभयो ।

 

चीनको मिडिया प्रतिनिधि मण्डलका प्रमुख पेङ बिनले नेपाल र चीनबिचको सम्बन्ध प्राचीन समयदेखि नै राम्रो रहेको चर्चा गर्नुभयो । यस भ्रमणबाट सञ्चार गृहबिच नयाँ सहकार्य गर्ने उद्देश्यले गोरखापत्र संस्थानको भ्रमण गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘हामी गोरखापत्रसँग सहकार्य गर्न इच्छुक छौँ ।’’

 

चीनको प्रतिनिधि मण्डललाई गोरखापत्रको पहिलो अङ्कको पहिलो प्रतिकृति प्रदान गरिएको थियो ।

 

भेटमा गोरखापत्र संस्थानका व्यवस्थापन, आर्थिक एवम् मुद्रण सल्लाहकार रामकृष्ण अधिकारी, दि राइजिङ नेपालका प्रधान सम्पादक भीमसेन थपलिया, गोरखापत्र अनलाइन प्रकाशनका सम्पादक नारदमुनि गौतम तथा चीनको मिडिया प्रतिनिधि मण्डलका सदस्यहरूको सहभागिता थियो ।