६ महिनामा चितवन निकुञ्ज घुम्ने झण्डै डेढ लाख
2024-01-16 16:58:06cri
Share with:

वन्यजन्तु अवलोकनका लागि देशको मुख्य पर्यटकीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज घुम्नेको संख्या ६ महिनामा करिब डेढ लाख जना पुगेको छ । निकुञ्ज घुम्नेमा स्वदेशी पर्यटकको संख्या उल्लेख्य छ । ६ महिनामा साढे १७ करोड रुपैयाँ हाराहारी आम्दानी गर्दा पर्यापर्यटनबाटमात्रै १४ करोड भन्दा धेरै राजश्व संकलन गरेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

 

चितवन निकुञ्ज दुर्लभ वन्यजीव एकसिंगे गैंडा, पाटे बाघ, घडियाल गोहीलगायत मुख्य बासस्थल हो । यस्ता जीव जनावर, पन्छी, जलचर, वनस्पति हेर्न र निकुञ्ज आडका आदिवासी थारु, बोटे, कुमाल समुदायका संस्कार, संस्कृति नाँचगानमा रुचि भएका स्वदेशीविदेशी पर्यटक चितवन निकुञ्ज घुम्न आउँछन् । चालु आर्थिक वर्षको पुससम्म कुल एक लाख ४८ हजार ३९१ जना पर्यटकले चितवन निकुञ्ज घुमेका छन् ।

 

निकुञ्जका सूचना अधिकारी रहेका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज घुम्नेमध्ये ९० हजार ११४ नेपाली र ४३ हजार ४२५ विदेशीले रहेको बताउनुभयो। यो अवधिमा सार्क राष्ट्रका १४ हजार ८२२ जनाले निकुञ्ज घुमेका छन् । उनीहरु अधिकांश भारतीय हुन्। निकुञ्जले यो अवधिमा १७ करोड ४८ लाख ७० हजार १६१ रुपैयाँ राजश्व आम्दानी गरेको छ । जसमध्ये पर्यटनबाट मात्रै १४ करोड ४७ लाख ८१ हजार ३०० रुपैयाँ आम्दानी गरेको संरक्षण अधिकृत तिवारीले बताउनुभयो। निकुञ्जले स्वदेशी, सार्क देश र विदेशी पर्यटकको फरक फरक दरमा प्रवेश शुल्क लिने गर्छ । डुंगा सफारी, जीप सफारी र हात्ती सफारीको पनि थप बेग्लै शुल्क लाग्छ। हात्ती सफारी निकुञ्जभित्र हुँदैन। निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा हुने गरेको छ । जीप सफारी निकुञ्ज भित्र र मध्यवर्ती वन दुवैमा हुने गरेको छ । जीप सफारीबाट मात्रै यो अवधिमा निकुञ्जले दुई करोड ९५ लाख ८७ हजार सात सय रुपैयाँ राजश्व आम्दानी गरेको छ।