नेपालको निकासी व्यापारमा बर्सेनी उतारचढाव, भारतमा हुने निर्यातमा औषत दश वर्षमा नयाँ प्रवृत्ति
2024-01-16 16:57:18cri
Share with:

मुलुकको निकासी व्यापारमा बर्सेनी उतारचढाव देखिँदै आए पनि भारतमा हुने निर्यातमा औषत दश वर्षमा नयाँ प्रवृत्ति देखा पर्ने गरेको छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । आयात र निर्यात दुवैमा भारतसँगको हिस्सा सबैभन्दा बढी छ । तर, भारतमा प्रमुख रुपमा निर्यात हुने वस्तु भने प्रत्येक दशकको अन्तरालमा परिवर्तन हुने गरेको छ । भारतबाहेक तेस्रो मुलुकमा निर्यात हुने वस्तुहरु भने वर्षौंदेखि एउटै छन् । भारतबाहेकका मुलुकमा वर्षौंदेखि ऊनी गलैंचा, तयारी पोशाक, पस्मिना, हस्तकला लगायत वस्तु नियमित रुपमा निकासी भइरहेका छन् ।

 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, राष्ट्र बैंक लगायतका निकायको तथ्यांकअनुसार भारतमा २०४० को दशकमा जुट र जुटका सामानको निकासी सबैभन्दा उच्च स्थानमा थियो । यसको दशकपछि अर्थात् २०५० को दशकमा आउँदा वनस्पति घिउको व्यापार बढेको देखिन्छ । वनस्पति घिउको व्यापारले पनि आफ्नो पकड लामो समयसम्म राख्न सकेन । एक दशक नहुँदै यसको निर्यातमा भारी रुपमा गिरावट आयो । खासमा भारतले वनस्पति घिउको निर्यातमा नेपाललाई कोटा तोकेपछि यसको निकासी खस्कँदै गएको थियो ।

सरकारी तथ्यांकअनुसार वनस्पति घिउपछि २०६० को दशकमा कपडा निर्यातले सबैभन्दा उच्च हिस्सा ओगटेको थियो । तर, कपडा निर्यात पनि धेरै समय टिक्न सकेन । २०७० को दशकमा आउँदा फेरि जुट र जुटका सामग्रीहरुको निकासी सबैभन्दा उच्च रुपमा बढेको देखिन्छ ।

यो दशकको अन्त्यतिर पाम आयल र सोयाबिन आयलको निकासी उच्च रह्यो । अहिले यी दुई वस्तुको निकासी पनि क्रमशः पातलिँदै गएको छ । २०८० को दशकमा भारततर्फ निर्यात हुने वस्तु फेरि फेरिएका छन् ।

कारोबार अनलाइनका अनुसार आव २०८०–८१ को पहिलो पाँच महिनाको तथ्यांकअनुसार अहिले नेपालबाट भारततर्फ निकासी हुने वस्तुको सूचीमा विद्युत र फलाम तथा फलामजन्य वस्तु शीर्ष स्थानमा छन् ।

 

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा दुवै मुलुकका सचिवबीच १० हजार मेगावाट विद्युत व्यापार गर्ने दीर्घकालीन सम्झौतामा हस्ताक्षर भएको थियो । केही दिनअघि भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र भारतबीचको यही सम्झौताअनुसार बिजुली उत्पादन गर्न सके आगामी केही वर्ष सबैभन्दा बढी विद्युत निर्यात हुनेछ ।

यस वर्षको वर्षायाममा १५ अर्ब २४ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भइसकेको छ । विद्युत प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले यस वर्षको जेठदेखि २० मंसिरसम्ममा १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत निर्यात गरी १५ अर्ब २३ करोड ८० लाख रुपैयाँ आर्जन गरेको छ ।

 

आगामी दिनमा कुनै अवरोध नभए यो दशकमा मुलुकको निकासी व्यापारमा सबैभन्दा बढी विद्युत निकासीबाट नै विदेशी मुद्रा आर्जन हुने सम्भावना देखिएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार नेपालको निकासी व्यापारमा यो दशकमा सबैभन्दा बढी आम्दानी गर्ने क्षेत्र जलविद्युत हुनेछ । भारत निर्यात हुने बिजुलीपछिको हिस्सा भने फलाम र फलामजन्य वस्तुले लिने देखिन्छ ।

भारतमा निकासी हुने प्रमुख वस्तु एक दशकको अन्तरालमा फेरिए पनि अरु धेरै वस्तुहरुको निकासी नियमित रुपमा भइरहेको छ । वर्षौंदेखि नियमित धेरै–थोरै निकासी हुने वस्तुहरुमा जुस, पोलिष्टर धागो, अलैंची, चिया, कपडा, जिंक सिट, पाम आयल, सोयाबिन आयल, चाउचाउ, जडिबुटी लगायतका वस्तु छन् ।