आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन हुने सरकारको दाबी
2024-01-18 16:21:27cri
Share with:

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्ने बताउनुभएको छ। बिहीबार स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै  उहाँले यस्तो बताउनुभएको हो। उहाँले पछिल्लो १० वर्ष नेपालको उर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्ने दाबी गर्नुभयो।


‘अब यो १० वर्ष, पछिल्लो १० वर्ष नेपालको उर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्नेछ। यो उपलब्धिहरुले हाम्रा सामु नयाँ सम्भवानाहरु, हाम्रा निम्ति आउने अवसरहरु पनि सिर्जना गरेको छ,’’ मन्त्री बस्नेतले भन्नुभयो, ‘‘हामीले चुनौतीको उचित व्यवस्थापन गर्ने र सम्भवानालाई अझ व्यवहारिक बनाउँदै जाने, उद्घाटित गर्दै जाने त्यो नीति, विधि र इच्छाशक्तिका साथ हामी अघि बढ्नुपर्छ। अहिले सरकार त्यही बाटोमा अघि बढिरहेको छ।’’

 

मन्त्री बस्नेतले निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्ष भित्रमा २८ हजार मेगावाट बढी विद्युत उत्पादन गर्नसक्ने बताउनुभयो। उहाँले सरकार आगामी १२ वर्षमा २८ हजार मेगावाट बढी विद्युत उत्पादन गर्ने लक्ष्यअनुसार अघि बढिरहेको जानकारी दिनुभयो। उहाँले पछिल्लो डेढ वर्षको अवधिमा एक हजारभन्दा बढी मेगावाट विद्युत उत्पादनको अवस्था सिर्जना भइरहेको बताउनुभयो। ‘११२ वर्षको इतिहासबाट हिसाव गर्दा र त्यहाँ प्लस माइनस गुणा गर्दा हिसाव नमिल्न सक्छ। तर पछिल्लो एक दशक र १६ महिनाको अवधिमा एक हजारभन्दा बढी मेगावाट विद्युत उत्पादनको अवस्था सिर्जना भइरहेको छ, यो हिसावले हेर्दा आगामी १२ वर्षमा हामी २८ हजारभन्दा बढी विद्युत उत्पादन गर्नसक्छौँ’ उहाँले भन्नुभयो। मन्त्री बस्नेतले लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्नसके उर्जा क्षेत्रका समस्या समाधान हुने बताउनु भयो।