इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा रूपान्तरण
2024-01-18 16:33:18cri
Share with:

पूर्वी नेपालको इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने दुई पाङ्ग्रे सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको छ। स्थानीय तहले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गरेको यो कार्य नेपालमा नै पहिलो भएको इटहरी उपमहानगरपालिकाको दावी छ ।

 

संघीय सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरपालिकाले पेट्रोलियम पदार्थबाट चल्ने मोटरसाइकललाई विद्युतीय सवारीमा रूपान्तरण गरेको हो ।

 

इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गरेको जानकारी दिनुभयो । मर्मत गरेर उपयोगमा आउन नसक्ने तथा २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनको रुपमा रूपान्तरण गर्न सकिने भन्दै संघीय सरकारले गरेको व्यवस्थालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेर यो अभियानलाई अगाडी बढाएको प्रमुख पौडेलको भनाइ छ ।

 

पेट्रोलबाट चल्ने मोटरसाइकललाई इटहरी १७ का दुई जना विद्यार्थीले विद्युतीय सवारीमा रूपान्तरण गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरेका छन् । इन्जिनियरिङ अध्ययन गरिरहेका स्थानीय आदित्य आचार्य र रिसप गडतौलाले ६ महिना लगाएर इन्धनबाट चल्ने मोटरसाइललाई विद्युतीयमा रूपान्तरण गरेर त्यसलाई पनि सार्वजनिक गरिएको छ ।