कोट डी आइभोरीका राष्ट्रपति र चिनियाँ परराष्ट्रमन्त्रीबीच भेटवार्ता
2024-01-18 19:14:08cri
Share with:

स्थानीय समयअनुसार, जनवरी १७ तारिख कोट डी आइभोरीका राष्ट्रपति आलासेन औवात्तारा र चिनियाँ परराष्ट्र मन्त्री वाङ यीबीच अबिदजानमा भेटवार्ता भएको छ।

भेटमा राष्ट्रपति औवात्ताराले चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको शासकीय दर्शन र जनताको भावनाको उच्च प्रशंसा गर्दै विश्वआकर्षित चीनका उपलब्धिहरूको उच्च मूल्यांकन गर्नुभयो। उहाँले भन्नुभयो, ‘शान्ति र विकासको बारेमा एक प्रमुख देशको रूपमा चीनले लिएको जिम्मेवारीका लागि धन्यवाद दिन्छु।'

 कोट डी आइभोरीले चीनसँगको सम्बन्धलाई प्राथमिकता दिँदै जाने र चीनको सफल अनुभवबाट पाठ सिक्दै विभिन्न क्षेत्रमा हुने सहयोगलाई विस्तार गर्दै जाने पनि उहाँले बताउनुभयो। कोट डी आइभोरीमा चीन-अफ्रिका सहयोग मञ्चका थप नतिजाहरूको कार्यान्वयनलाई अघि बढाउन तत्पर रहेको भन्दै उहाँले दुई देशका जनतालाई अझ राम्रो हित कल्याण सिर्जना गर्दै जाने इच्छा पनि व्यक्त गर्नुभयो।

थाइवान चीनको एक भाग हो भन्ने कोट डी आइभोरीको अडान स्पष्ट रहेको भन्दै राष्ट्रपति औवात्ताराले एक चीन भन्ने सिद्धान्तको पालना गरिरहने स्पष्ट पार्नुभयो।

सो अवसरमा चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले चीन-अफ्रिका सहकार्यले ऐतिहासिक उपलब्धि हासिल गरेकोले अफ्रिकाको तीव्र विकासलाई महत्वपूर्ण टेवा पुर्याएको साथै विश्व शान्ति र स्थायित्वका लागि योगदान दिएको पनि जनाउनुभयो। अफ्रिकी मुलुकहरूसँग मिलेर साझा विकास र समृद्धि हासिल गर्ने प्रभावकारी उपायहरूको खोजी गर्दै आधुनिकीकरणको दिशामा मिलेर काम गर्ने इच्छा चीनसँग रहेको पनि परराष्ट्र मन्त्री वाङ यीले बताउनुभयो।